काठमाडौं: आइसिसी विश्वकप लिग टु को खेलमा स्कटल्याण्डसँग नेपाल २ रनले पराजित भएको छ ।
३ सय २४ रनको विशाल लक्ष्य पछ्याएको नेपाल ५०औं ओभरको अन्तिम बलमा ३ सय २१ रनमा अल आउट भयाे।
यो नै नेपालले ओडिआईमा बनाएको सर्वाधिक रन हो । यसअघि ओमानविरुद्ध सन् २०२३ मा नेपालले ३ सय १० रन बनाएको थियो ।
नेपालका लागि भीम सार्कीले ८५ बलमा ८ चौकाको सहयोगमा ७३ रनको अर्धशतकीय इनिङ खेले ।
उपकप्तान दीपेन्द्रसिंह ऐरीले ५१ बलमा २ चौकाको सहयोगमा ५६ रन जोडे । सातौ विकेटका लागि सोमपाल कामीसँग मिलेर दीपेन्द्रले १ सय ५ रनको महत्वपूर्ण साझेदारी गरे । सोमपाल ४४ बलमा ३ चौका र ४ छक्काको सहयोगमा ६७ रनमा आउट भए ।
त्यसअघि स्कटल्याण्डको डन्डीमा स्थित फोर्थहिल क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको घरेलु टोलीले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय २३ रनको विशाल योगफल तयार गर्यो ।
स्कटल्याण्डका कप्तान रिची बेरिङ्टनले शतकीय इनिङ खेले । बेरिङ्टनले १ सय १४ बलमा ६ चौका र ४ छक्कासहित १ सय २ रनको योगदान गरे ।
नेपालका करण र दीपेन्द्रले समान २ तथा ललितले १ विकेट लिए ।
८ टोली सहभागी लिग टु मा स्कटल्याण्ड १९ खेलमा २४ अंकका साथ तेस्रो स्थानमा छ । नेपाल १५ खेलमा १० अंकका साथ सातौं स्थानमा छ ।
सन् २०२७ सम्म चल्ने लिगको अन्तिममा शीर्ष ४ मा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा सिधै स्थान बनाउँने छ । पुछारमा रहने ४ टोलीले भने विश्वकप छनोट प्लेअफ खेल्नुपर्ने छ ।
लिग टु को खेल पछि असार १(१५ जुन) गते आइतवार बाट नेपाल, स्कटल्याण्ड र नेदरल्याण्ड्सबीचमा त्रिकोणात्मक टि ट्वान्टी आई सिरिज हुनेछ ।
