यू-१६ सुदूरपश्चिम छनौटः कैलालीको दोस्रो जित,दार्चुला बाहिरियो

बैतडी: एसिसी मेन्स यू–१६ इस्ट जोन कप २०२५ को सुदूरपश्चिम छनौटमा कैलालीले लगातार दोस्रो जित निकालेको छ ।

पहिलो खेलमा अछाममाथि ७१ रनको जित निकालेको कैलालीले आज दोस्रो खेलमा दार्चुलालाई ९४ रनले पराजित गर्यो ।

कैलालीले दिएको १३१ रनको लक्ष्य पछ्याएको दार्चुला १६ दशमलब ३ ओभरमा ३६ रनमा अलआउट भयो ।

दार्चुलाका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

कैलालीका रुद्रप्रसाद आचार्य ५ विकेट लिदै प्लेयर अफ द म्याच चुनिएका स्कोरर नुरेन अन्सारीले जानकारी दिनुभयो ।

यसअघि पहिला ब्याटिंग गरेको कैलालीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १३० रन बनायो ।

जसमा अविरल विकले अधएशतकीय पारी खेल्दै ५३ रनमा नटआउट रहे ।

दार्चुलाका रोशन मिश्र र पुरषोत्तम रावलले २/२ विकेट हात पारे ।

दार्चुलाको यो दोस्रो हार हो । यो हारले दार्चुला बाहिरिएको छ । कैलालीले भने फाइनलका लागि दाबी पेश गरेको छ ।

यसैबीच आजै हुने भनिएको अछाम र कञ्चनपुरबीचको खेल बर्षाका कारण रद्द भएको छ । खेल रद्द हुँदा दुबै टोलीले अंक बाँडेका छन् ।

भोलि हुने कैलाली र कञ्चनपुरबीचको खेलले फाइनल पुग्ने टोलीको टुंगो लाग्नेछ ।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको आयोजना जेठ ८ गतेदेखि सुरु प्रतियोगितामा नेपाल क्रिकेट संघमा आवद्ध सुदूरपश्चिमका आठ जिल्लाको सहभागिता रहेको छ ।

छनौट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्रदेशको टोलीमा समावेश गरिने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका प्रशिक्षक दीपेन्द्रबहादुर चन्दले बताउनुभयो ।

एशियन क्रिकेट काउन्सिलको कार्यक्रमअनुसार नेपाल क्रिकेट संघले एसिसी मेन्स यू–१६ इस्ट जोन कप २०२५ को छनोटका लागि यही महिनामा राष्ट्रिय प्रतियोगिता गर्दैछ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!