काठमाडौं: इण्डियन प्रिमियर लिग आइपिएलमा चेन्नई सुपर किंग्सले सुखद अन्त्य गरेको छ ।
सुखद अन्त्य गर्ने क्रममा चेन्नईले शिर्ष स्थानको गुजरात टाइटन्सलाई ८३ रनले हरायो ।
चेन्नईले दिएको २ सय ३१ रनको लक्ष्य पछ्याएको गुजरात १८।३ ओभरमा १ सय ४७ रनमा अल आउट भयो ।
गुजरातका लागि ओपनर साई सुदर्शनले २८ बलमा ६ चौकाको सहयोगमा सर्वाधिक ४१ रन जोडे । शाहरुख खान १५ बलमा १९, कप्तान शुभमन गिल १३ तथा राशिद खान १२ रनमा आउट भए ।
राहुल तेवातिया १४ तथा अर्शद खान २० रनमा आउट भए । चेन्नईका लागि अन्शुल कम्बोज र नुर अहमदले समान ३, रविन्द्र जडेजाले २ तथा मथिशा पथिराना र खलिल अहमदले समान १ विकेट लिए ।
त्यसअघि गुजरातको घरेलु मैदान नरेन्द्र मोदी क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ३० रन बनाएको थियो ।
चेन्नईका लागि डेवाल्ड ब्रेभिस र डेभोन कन्वेले अर्धशतक बनाए । ब्रेभिसले २३ बलमा ४ चौका र ५ छक्काको सहयोगमा सर्वाधिक ५७ रन बनाए ।
कन्वेले ३५ बलमा ६ चौका र २ छक्काको सहयोगमा ५२ रन जोडे । उर्विल पटेल १९ बलमा ४ चौका र २ छक्काको सहयोगमा ३७ रनमा आउट भए ।
ओपनर आयुष महेत्र १७ बलमा ३ चौका र ३ छक्काको सहयोगमा ३४ रनमा आउट भए । शिभम दुवेले ८ बलमा १७ रन बनाए ।
रविन्द्र जडेजा १८ बलमा १ चौका र १ छक्काको सहयोगमा २१ रनमा अविजित रहे ।
गुजरातका लागि प्रसिद्ध कृष्णाले २ तथा साई किशोर, राशिद खान र साहरुख खानले समान १ विकेट लिए ।
पराजित गुजरातको लिग चरणको शीर्ष स्थानमा रहँदै पहिलो क्वालिफायर खेल्ने लक्ष्यमा धक्का पुगेको छ ।
