बैतडी: कैलालीमा जारी जिल्लास्तरीय यू–१६ इन्टर स्कुल क्रिकेट च्याम्पियनसिप अन्र्तगत आज पनि ३ खेल सम्पन्न भएका छन् ।
सम्पन्न खेलहरुबाट ऐश्वर्या विद्या निकेतन, त्रिभुवन मावि र जेसिस एभरेष्ट स्कुल विजयी भएका छन् ।
ऐश्वर्याले धनगढी नमूना स्कुलमाथि १३ रनको जित निकाल्यो ।
ऐश्वार्यले दिएको ८८ रनको लक्ष्य पछ्याएको धनगढी १४ दशमलब २ ओभरमा ७४ रनमा समेटियो ।
यसअघि फाप्ला मैदानमा पहिला ब्याटिंग गरेको ऐश्वर्याले १५ ओभरमा ६ विकेटको क्षतिमा ८७ रन बनायो ।
अर्को खेलमा एक्सिस विद्याश्रमलाई त्रिभुवन माविले ३ रनले हरायो ।
त्रिभुवनले दिएको ८७ रनको लक्ष्य पछ्याएको एक्सिस १५ ओभरमा ९ विकेटको क्षतिमा ८३ रन मात्रै जोड्न सक्यो ।
पहिला ब्याटिंग गर्दै त्रिभुवन ११ दशमलब ३ ओभरमा ८६ रनमा अलआउट भएको थियो ।
आजै सम्पन्न तेस्रो खेलमा जेसिसले ग्ली एकेडेमीलाई २३ रनले स्तब्ध पार्यो ।
पहिला ब्याटिंग गरेको जेसिसले १५ ओभरमा ९ विकेटको क्षतिमा ९१ रन बनायो ।
जवाफमा ग्ली १३ दशमलब २ ओभरमा ६८ रनमा समेटियो ।
यसअघि समूह बी बाट मणिलेक इन्टरनेशनल स्कुल र समूह सी बाट वेस्टर्न क्रिस्टल एकेडेमी अन्तिम चारमा सुरक्षित भइसकेका छन्।
वैशाख २६ गतेदेखि जारी प्रतियोगिता जेठ ७ गते सम्पन्न हुने प्रतियोगिताका प्राविधिक प्रमुख नुरेन अन्सारीले जानकारी दिनुभयो ।
कैलाली जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालित प्रतियोगितामा १७ टोलीको सहभागिता रहेको छ ।
यो प्रतियोगिताबाट एसिसी मेन्स यू–१६ इस्ट जोन कप २०२५ को लागि जिल्लाको टिम छनौट गरिने कैलाली जिल्ला क्रिकेट संघका अध्यक्ष विक्रम विष्टले बताउनुभयो ।
