बैतडी: कैलालीमा जारी जिल्लास्तरीय यू–१६ इन्टर स्कुल क्रिकेट च्याम्पियनसिप अन्र्तगत आज ३ खेल सम्पन्न भएका छन् ।
सम्पन्न खेलहरुबाट ऐश्वर्या विद्या निकेतन, चैतन्य पाठशाला र स्टेपिङ स्टोन स्कुल विजयी भएका छन् ।
ऐश्वर्याले एक्सिस विद्याश्रम स्कुलमाथि ६२ रनको जित निकाल्यो ।
ऐश्वार्यले दिएको १५१ रनको लक्ष्य पछ्याएको एक्सिसले १५ ओभरमा ८ विकेटको क्षतिमा ८८ रन मात्रै बनाउन सक्यो ।
यसअघि फाप्ला मैदानमा पहिला ब्याटिंग गरेको ऐश्वर्याले १५ ओभरमा २ विकेटको क्षतिमा १५० रन बनायो ।
ऐश्वर्याका मनिस जोशीले ७९ रन हिर्काए ।
चैतन्यले त्रिभुवन माविलाई ४ विकेटले हरायो ।
त्रिभुवनले दिएको ६९ रनको लक्ष्य चैतन्यले ६ विकेट गुमाउदै भेट्टायो ।
पहिला ब्याटिंग गर्दै त्रिभुवनले १० ओभरमा ९ विकेटको क्षतिमा ६८ रन बनायो ।
आजै सम्पन्न अर्को खेलमा स्टेपिङले एलायन्स इन्टरनेशनल स्कुलमाथि डिएल मेथडमा १२ रनले स्तब्ध पार्यो ।
पहिला ब्याटिंग गर्दै स्टेपिङ १४ दशमलब ५ ओभरमा ९८ रनमा समेटियो ।
जवाफमा एलायन्सले ७ दशमलब १ ओभरमा ३९ रन बनाउदा रोकिएको खेल खराब मौसमका कारण रद्द भयो । त्यसपछि परिणाम डिएल मेथडमा गएको हो ।
यसअघि समूह बी बाट मणिलेक इन्टरनेशनल स्कुल र समूह सी बाट वेस्टर्न क्रिस्टल एकेडेमी अन्तिम चारमा सुरक्षित भइसकेका छन्।
वैशाख २६ गतेदेखि जारी प्रतियोगिता जेठ ७ गते सम्पन्न हुने प्रतियोगिताका प्राविधिक प्रमुख नुरेन अन्सारीले जानकारी दिनुभयो ।
कैलाली जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालित प्रतियोगितामा १७ टोलीको सहभागिता रहेको छ ।
यो प्रतियोगिताबाट एसिसी मेन्स यू–१६ इस्ट जोन कप २०२५ को लागि जिल्लाको टिम छनौट गरिने कैलाली जिल्ला क्रिकेट संघका अध्यक्ष विक्रम विष्टले बताउनुभयो ।
