दीपेन्द्रकाे टिमले जित्याे मधेस प्रिमियर लिगकाे उपाधि

काठमाडौं: तेस्रो संस्करणको मधेस प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधि दीपेन्द्र सिंह ऐरीकाे कप्तानीमा रहेकाे मिथिला वारिर्यसले जितेको छ ।

राजविराजमा आज सम्पन्न फाइनल खेलमा मिथिला वारियर्सले बलानबिहुललाई ५ विकेटले पराजित गरेको हो ।
विजेता मिथिलाले रु ९ लाख एक हजार तथा उपविजेता बलानबिहुले रु ४ लाख एक हजार पुरस्कार प्राप्त गरे ।

टस जितेर पहिला ब्याटिङ गर्दै बलानबिहुले १९ दशमलव ३ ओभरमा सबै बिकेट गुमाएर १५३ रन बनायो । एक सय ५४ रनको विजयी लक्ष्य मिथिला वारियर्सले १८ दशमलव ३ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।

बलानबिहुका लागि विवेक यादवले सर्वाधिक ४५ रन बनाए । यस्तै लोकेश बमले ४१, सुजन थपलियाले २८ तथा फिर्दोष अन्सारीले १५ रन बनाए । बलिङतर्फ मिथिला वारियर्सका वसन्त खत्रीले तीन, शेर मल्ल र कुुशल भुर्तेलले दुई दुई तथा नन्दन यादवले एक विकेट लिए ।

यसैगरी मिथिलाका लागि कुशल भुर्तेलले सर्वाधिक ५८ रन बनाए । यसैगरी रवि साहले ४४ र बसिर अहमदले २५ रन बनाए ।
बलिङतर्फ बलानबिहुका विवेक यादव र अरनिको यादवले दुई दुई विकेट लिए । ‘प्लेयर अफ दी म्याच’ मिथिलाका कुशल भुर्तेल घोषित भए ।

‘प्लेयर अफ दी सिरिज’ विशाल पटेल-जनकपुर सनराइज, उत्कृष्ट ब्याटर आशिफ शेख-जनकपुर सनराइज तथा उत्कृष्ट बलर शेर मल्ल-मिथिला वारियर्स घोषित भए ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!