काठमाडौं: चेन्नई सुपर किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा लगातार चौथो हार बेहोरेको छ।
मुम्बई इन्डियन्सलाई चार विकेटले पराजित गर्दै चेन्नईले प्रतियोगिता सुरु गरेको थियो। तर, उक्त लयलाई कायम राख्न नसक्दा चेन्नई लगातार चार खेलमा पराजित हुन पुगेको हो।
रोयल्स च्यालेन्जर्स बैंग्लोर, राजस्थान रोयल्स र दिल्ली क्यापिटल्ससँग पराजित भएको चेन्नई आफ्नो पाँचौं खेलमा मंगलबार पञ्जाब किङ्ससँग १८ रनको हार बेहोर्न बाध्य भयो।
योसँगै पञ्जाबले चार खेलबाट ६ अंक पुर्याएको छ। एक खेल बढी खेलेको चेन्नईको भने दुई अंक मात्रै छ। पञ्जाबले प्रस्तुत गरेको २२० रनको लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर २०१ रन मात्रै बनाउन सक्यो।
चेन्नईका ओपनर डेभन कन्वेले सर्वाधिक ६९ रन बनाए। ४९ बल खेलेका उनले ६ चौका र दुई छक्का प्रहार गरे। उनी रिटायर्ड आउट भए।
शिवम दुबेले २७ बलमा तीन चौका र दुई छक्कासहित ४२ रन बनाए। उनी आउट भएसँगै क्रिजमा आएका महेन्द्रसिंह धोनीले २७ र ओपनर रचिन रवीन्द्रले ३६ रन बनाए।
पञ्जाबलाई जित दिलाउन लोकी फर्गुसनले सर्वाधिक दुई विकेट लिए। चार ओभर बलिङ गरेका उनले ४० रन खर्चिए।
यसअघि पहिला ब्याटिङ गरेको पञ्जाबकले ६ विकेट गुमाउँदै २१९ रन बनायाे। प्रियान्स आर्याले सर्वाधिक १०३ रन बनाए। ४२ बल खेलेका उनले सात चौका र नौ छक्का प्रहार गरे।
शशांक सिंहले अविजित रहँदै ३६ बलमा दुई चौका र तीन छक्कासहित ५२ रन बनाए। मार्को जनसेनले अविजित ३४ रनको योगदान दिए।
चेन्नईका खालिल अहमद र रवीचन्द्रन अश्विनको नाममा समान दुई विकेट रह्यो।
