काठमाडौं: इण्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बेंगलुरुले दाेस्राे जित निकालेको छ। दाेस्राे जित दर्ता गर्ने क्रममा बेंगलुरूले चेन्नई सुपर किंग्सलाई उसकै घरेलु मैदानमा ५० रनकाे शानदार जित निकाल्याे।
बेंगलुरुले चेन्नईलाई १७ वर्ष पछि चेपकमा ५० रनले हराएको हो । आइपिएलको पहिलो संस्करण सन् २००८ मा बेंगलुरुले चेन्नईलाई चेपकमा हराएको थियो । त्यसपश्चातको यो नै पहिलो जित हो ।
बेंगलुरुले दिएको १ सय ९७ रनको लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४६ रन मात्र बनाउन सक्यो ।
चेन्नईका लागि ओपनर रचिन रविन्द्रले ३१ बलमा ५ चौकाको सहयोगमा सर्वाधिक ४१ रन जोडे । रविन्द्र जडेजा १९ बलमा २ चौका र १ छक्काको सहयोगमा २५ रनमा आउट भए ।
शिभम दुबे १५ बलमा १९ रनमा आउट भए । महेन्द्रसिंह धोनी १६ बलमा ३ चौका र २ छक्काको सहयोगमा ३० रनमा अविजित रहे ।
चेन्नईलाई सस्तैमा रोक्न बेंगलुरुका लागि जोस हेजलवुडले ४ ओभरमा २१ रन खर्चिएर ३ विकेट लिए । यश दयाल र लियम लिभिङ्स्टोनले समान २ तथा भुवनेश्वर कुमारले १ विकेट लिए ।
त्यसअघि चेन्नइको घरेलु मैदान एमए चिदम्बरम अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम चेपकमा टस हारेर ब्याटिङको निम्तो पाएको बेंगलुरुले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ९६ रनको योगफल तयार गरेको थियो ।
बेंगलुरुको लागि कप्तान रजत पाटीदारले ३२ बलको सामना गर्दै ४ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ५१ रन जोडे ।
बेंगलुरुको कप्तानको रुपमा पहिलो अर्धशतक पाटीदारले ३० बलमा पूरा गरे । ओपनर फिल साल्टले १६ बलमा ५ चौका र १ छक्काको सहयोगमा ३२ रन जोडे । विराट कोहली ३० बलमा २ चौका र १ छक्काको सहयोगमा ३१ रन बनाउँदै आउट गरे ।
देवदत्त पटीकल १४ बलमा २७, जितेश शर्मा ६ बलमा १२ तथा लियम लिभिङ्स्टोन ९ बलमा १० रनमा आउट भए ।
कोलकाता नाइटराइडर्ससँगको अघिल्लो खेलमा प्लेयर अफ द म्याच बनेका कुर्नाण पाण्ड्या रनको खाता नखोल्दै आउट भए । टिम डेबिड ६ बलमा २२ रन बनाउँदै अविजित रहे ।
चेन्नईका लागि नुर अहमदले ३, मथिशा पथिरानाले २ तथा खलिल अहमद तथा रविचन्द्रन आश्विनले समान १ विकेट लिए ।
बेंगलुरु २ खेलमा अपराजित रहँदै ४ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ । बेंगलुरुले पहिलो खेलमा कोलकाता नाइटराइडर्सलाई पराजित गरेको थियो ।
दोस्रो खेलमा पहिलो हार बेहोरेको चेन्नईको २ खेलमा २ अंक रहेको छ । पहिलो खेलमा चेन्नईले मुम्बई इण्डियन्सलाई पराजित गरेको थियो ।
