पन्ज्युनयाँमा २१ फिटको राममूर्ति निर्माण,चैत २४ मा प्राण प्रतिष्ठा हुने

बैतडी: चन्दा संकलन गरेर बैतडीको दोगडाकेदार गाउँपालिका–६,पन्ज्युनयाँस्थित श्रीराम मन्दिरमा भगवान श्रीरामको २१ फिट अग्लो मूर्ति निर्माण गरिएको छ । देश तथा विदेशबाट गरेर पाँच लाख चन्दा संकलन गरेर मूति निर्माण गरिएको राममूर्ति निर्माण समितिका अध्यक्ष विरसिंह कार्कीले बताउनुभयो ।

उहाँले भन्नुभयो,“ देश तथा विदेशबाट चन्दा संकलन गरेर २१ फिट अग्लो राममूर्ति निर्माण गरेका छौं । मन्दिरको बाह्य रङ्गरोगन लगायतका अन्य निर्माण कार्यहरू चलिरहेका छन् । ”
यही चैत २४ गते रामनवमीको दिन भगवान श्रीरामको मूर्तिको औपचारिक उद्घाटन तथा प्राणप्रतिष्ठा गरिने समितिले जनाएको छ । यस अवसरमा परम्परागत रूपमा ठूलो मेला लाग्नेछ, जसमा बैतडी, दार्चुला लगायत सुदूरपश्चिमका विभिन्न स्थानबाट भक्तजनहरूको सहभागिता रहनेछ ।

धार्मिक रूपमा महत्वपूर्ण यस स्थलको उल्लेख स्कन्द पुराणमा समेत पाइन्छ। जमाडी र चौलानी नदीको संगमस्थल बैतडीको साविक ढीक क्षेत्र, हालको दोगडाकेदार गाउँपालिका,डिलाशैनी गाउँपालिका, साथै दार्चुलाको शैल्यशिखर नगरपालिका र लेकम गाउँपालिकाका भक्तजनहरूको आस्थाको केन्द्र रहेको यो स्थानमा परापूर्वकालदेखि नै रामनवमीका अवसरमा भव्य मेला लाग्दै आएको छ ।

स्कन्द पुराणमा समेत उल्लेख भएको यो स्थानमा परापूर्व कालदेखी रामनवमीको दिन ठूलो मेला लाग्ने गरेको मूर्ति निर्माणका प्रस्तावक तथा समितिका सदस्य नैनसिंह गोयलाले जानकारी दिनुभयो ।
यहाँ तिर्थ,वर्त,विवाहलगायतका विभिन्न धार्मिक तथा पैतृक कार्यहरु सम्पन्न हुँदै आएका छन् ।

रामन्दिर क्षेत्रमा निकट भविष्यमा होमकुण्ड पनि निर्माण गर्ने योजना रहेको समितिका अध्यक्ष कार्कीले बताउनुभयो । राममन्दिर क्षेत्र परिसर फराकिलो गर्न स्थानीय बलदेवसिंह कार्की,कृष्णसिंह कार्की,भानसिंह कार्की र गणेशसिंह कार्कीले जग्गादान गर्नुभएको छ ।

श्रीराम मन्दिरमा मूर्ति निर्माण लगायतका कार्यहरूमा स्वेच्छाले दान गर्न इच्छुक महानुभावहरूले नेपाल बैंक लिमिटेडको क्युआर कोड स्क्यान गरेर सहयोग गर्न सक्नेछन् अथवा राममूर्ति निर्माण समितिका अध्यक्ष बिरसिंह कार्की (९८४८८३१२७३ ) सँग सम्पर्क गर्न सक्ने जनाइएको छ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!