काठमाडौं: पञ्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सुखद् सुरुआत गरेको छ।
हाई स्काेरिङ खेलमा पञ्जाबले गुजरात टाइटन्सलाई ११ रनले हरायाे।
जितका लागि पाएकाे २४४ रनको विशाल लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै २३२ रन मात्रै बनाउन सक्यो।
गुजरातका साई शुदर्शनले सर्वाधिक ७४ रन बनाए। ४१ बल खेलेका उनले पाँच चौका र ६ छक्का प्रहार गरे।
जस बटलरले ३३ बलमा चार चौका र दुई छक्कासहित ५४ रन बनाए। शेर्फेन रदरफोर्ड ४६ र कप्तान शुभमन गिल ३३ रनमा आउट हुँदा अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन्।
पञ्जाबका अर्शदीप सिंहले सर्वाधिक दुई विकेट लिए। चार ओभर बलिङ गरेका उनले ३६ रन खर्चिए।
मार्को जनसेन र ग्लेन म्याक्सवेलको नाममा समान एक विकेट रह्यो।
त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको पञ्जाबले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै २४३ रनको योगफल तयार पारेको थियो।
कप्तान श्रेयसले सर्वाधिक ९७ रन बनाए। ४२ बल खेलेका उनले पाँच चौका र नौ छक्का प्रहार गरे। प्रियान्स आर्य ४७, मार्कस स्टोइनिस २० र अज्मतुल्लाह ओमारजाई १७ रनमा आउट हुँदा शशांक सिंह ४४ रनमा अविजित रहे।
गुजरातका शाई किशोरले सर्वाधिक तीन विकेट लिए। चार ओभर बलिङ गरेका उनले ३० रन खर्चिए। कागिसो रबाडा र राशिद खानको नाममा समान एक विकेट रह्यो।
