अन्तरपालिका भलिबल: स्थगित खेलहरू शाहिलेकमा हुँदै

बैतडी: बैतडीमा जारी मैनेजर तेजबहादुर चन्द स्मृति अन्तरपालिका जिल्लास्तरीय भलिबल प्रतियोगिताका आजका खेलहरू शाहिलेकमा हुँदैंछन्।

यसअघि गाेठलापानीस्थित जगन्नाथ बहुउद्देश्यीय खेलमैदानमा सञ्चालन भइरहेका खेलहरू वर्षाका कारण बिहीबारदेखि अवरुद्ध भएका थिए।

उक्त खेलमैदानमा पानी जमेकाले आजका खेलहरू शाहिलेकस्थित विरेन्द्र माविकाे खेलमैदानमा सञ्चालनकाे तयारी भएकाे रेफ्री संयाेजक हरिसिंह भण्डारीले जानकारी दिनुभयाे।

आजका खेलहरू शाहिलेकमा हुने र भाेलिदेखिका खेलहरू पुनः गाेठलापानीमै हुने भण्डारीले बताउनुभयाे।

पहिलाे खेलमा आज दशरथचन्द नगरपालिका र पञ्चेश्वर गाउँपालिका,दाेस्राेमा पाटन नगरपालिका र शिवनाथ गाउँपालिका , तेस्राेमा मेलाैली नगरपालिका र सिगास गाउँपालिका भिड्नेछन् ।

मैनेजर तेजबहादुर चन्द ट्रष्टकाे आयाेजनामा बिहीबारदेखि भएको प्रतियोगितामा डिलाशैनी गाउँपालिकाबाहेक जिल्लाका सबै पालिकाकाे सहभागीता रहेकाे छ।

प्रतियोगिताको विजेताले १ लाख २५ हजार पुरस्कार पाउने ट्रष्टका सचिव विनाेदबहादुर चन्दले जानकारी दिनुभयाे।

यस्तै उपविजेताले ७५ हजार, तृतीयले ३५ हजार, सान्त्वनालाई १५ हजार र उत्कृष्ट खेलाडीलाई ५ हजार पुरस्कार दिइनेछ ।

यसअघि सम्पन्न प्रतियोगिताको उपाधि मेलौली नगरपालिकाले जितेको थियो ।

प्रतियोगिताले भलिबल खेलाडी उत्पादनमा सहयोग मिल्ने विश्वास गरिएको छ ।

दशरथचन्द नगरपालिका ५ घर भएका तेजबहादुर चन्द वाणिज्य बैंकका क्षेत्रिय प्रबन्धक हुनुहुन्थ्यो ।

उहाँकै स्मृतिमा वि स २०७४ सालमा स्थापना भएकाे ट्रष्टले जिल्लामा विभिन्न सामाजिक कार्यका साथै खेलाडीहरुको क्षमता अभिवृद्धिका लागि हरेक प्रत्येक वर्ष भलिबल प्रतियोगिताको आयोजना गर्दै आएको छ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!