बैतडी: बैतडीमा जारी प्रधानमन्त्री कप महिला टि-२० सुदूरपश्चिम प्रदेशस्तरीय छनाैट क्रिकेट प्रतियोगितामा डडेल्धुराले लगातार दाेस्राे जित निकालेकाे छ।
दाेस्राे जित दर्ता गर्ने क्रममा डडेल्धुराले कञ्चनपुरलाई ६ विकेटले पसाजित गर्याे।
जितका लागि पाएकाे ८९ रनकाे लक्ष्य डडेल्धुराले १७.१ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्याे ।
जसमा रविना धामीले अविजित १६ र हेमा भट्टले १५ रन बनाइन्।
बलिङमा कञ्चनपुरका मञ्जु विष्टले २ विकेट हात पारिन् ।
यसअघि दशरथचन्द क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेकाे कञ्चनपुर १६.५ ओभरमा ८८ रनमा अलआउट भयाे।
उसका रेवती धामीले सर्वाधिक ४१ रनकाे याेगदान गरिन्।
डडेल्धुराका लागि हिरा साउदले ३ विकेट लिइन् । उनी प्लेयर अफ द म्याच चुनिइन्।
सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघकाे आयाेजना र बैतडी जिल्ला क्रिकेट संघको सहआयाेजना पुस १९ गतेदेखि सुरू भएकाे प्रतियोगिता पुस २५ गते सम्पन्न हुनेछ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरू छनाैट गरेर प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगिताका लागि प्रदेशको टाेली तयार गरिने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बाशुदेव जाेशीले बताउनुभयाे।
प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगिता माघ १ गतेदेखि धनगढीमा हुँदैछ ।
