काठमाडौं : राष्ट्रिय हस्तलेखन प्रतियोगितामा नेपाल टप भएकी आयुषा खडायतकाे चाैतर्फी प्रशंसा भएकाे छ।
सुदूरपश्चिमको दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर १ घर भएकी आयुषा राष्ट्रिय हस्तलेखन प्रतियोगितामा प्रथम भएकी हुन्।
हालै काठमाण्डौंमा सम्पन्न भएको राष्ट्रिय हस्तलेखन प्रतियोगितामा देशभरबाट ५ हजार भन्दा बढि प्रतिस्पर्धी उछिन्दै आयुषा खडायत प्रथम भएकी छन् ।
बाल विकास एनसिएमएएस प्राईभेट लिमिटेडले आयोजना गरेको उक्त हस्तलेखन प्रतियोगितामा च्याम्पियन आयुषालाई नगदका साथै प्रमाण पत्र पुरस्कार वितरण गरिएको थियाे ।
व्यवसायका सिलसिलामा दार्चुलादेखि कञ्चनपुरको भीमदत्त नगरपालिका ४ महेन्द्रनगर क्याम्पस रोडमा आयुषाका बाबु दिनेश खडायत, आमा शुशिला धामी (खडायत)ले न्यू चौलानी बुक्स एण्ड स्पोर्ट सेन्टर संचालन गर्दै आएका छन ।
महेन्द्रनगर स्थित सार्क एजुकेशन कक्षा ९ मा अध्ययनरत छात्रा आयुषाले विगतदेखि हस्तलेखनमा रुची राख्दै आएकी छिन । स्थानीय स्तरमा हुने प्रतियोगितमा समेत सहभागी हुने गरेकी आयुषा यस पटक राष्ट्रिय स्तरकै प्रतियोगितामा सहभागि भइ प्रथम स्थान प्राप्त गर्न सफल भएकी हुन् ।
नेपालमा बिरलै हुने हस्तलेखन प्रतियोगितामा सुदूर दार्चुलाकी चेली आयुषा राष्ट्रिय स्तरको हस्तलेखन प्रतियोगिताको च्याम्पियन बनेपछि यहाँका नागरिक समेत हर्षित भएका छन ।
सुदूरपश्चिमकाे दुर्गम जिल्लामा जन्मिएकी आयुषा हस्तलेखन प्रतियोगितामा नेपाल टप हुनु गर्व गर्नलायक रहेकाे सम्झना चाैलानी पुस्तक पसलका सञ्चालक तथा दाेगडाकेदार ६ पन्ज्युनयाँका कालुसिंह कार्कीले बताए।
उनले भने,” सुदूरकि चेलीले देशभरमै नाम राखेकाे छ,याे हाम्राे लागि गर्वकाे कुरा हाे। याे अन्य अभिभावक तथा बालबालिकाका लागि अनुकरणीय छ।”
कम्प्युटरले लेखेजस्तै आयुषाका हस्ता भएपछि उनको सामाजिक सञ्जालमा प्रशंसा हुँदै आएकाे छ ।
आयुषा अध्ययनरत सार्क एजुकेशनले पनि उनलाई बधाई दिदै प्रशंसा गरेकाे छ।


