बैतडी: बैतडीमा एक शिशुको शंकास्पद मृत्यु भएको छ ।
जिल्लाको डिलासैनी गाउँपालिका वडा नं २ छेपट्टाका मुकेश रानाका दुई महिने छोरा आदर्शको शंकास्पद मृत्यु भएको हो ।
बुधबार दिउँसो १२ बजेको समयमा डिलासैनी –३ स्थित सिमार वर्थिङ सेन्टरमा खोप लगाएका आदर्श बिरामी भएपछि उपचारको लागि डडेल्धुरा अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको आफन्त धु्रब रानाले बताउनुभयो ।
नियमित खोप कार्यक्रम अन्तरगत आदर्शलाई सिमार वर्थिङ सेन्टरमा डिपिटी दोश्रो डोज र पिसिभीको पहिलो डोज लगाइएको थियो । त्यसैगरी ओपीभी र रोटा डोज खुवाइएको थियो । त्यसपछि दिउँसो ३ बजेदेखि जरु आएको र राती ¥याल फाल्न थालेपछि उपचारको लागि गोकुलेश्वर लगिएको थियो । त्यहा उपचार नभएपछि डडेल्धुरा अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको मृतकका आफन्तले बताएका छन् ।
सोही विवरणका डोजहरु अघिल्लो दिन पनि केही बालबालिकाहरुलाई लगाइएको र केही समस्या नआएको तर आदर्शको हकमा उक्त घटना भएको विषय संस्कास्पद रहेको आफन्तको भनाई छ । खोपका कारणले बालकको मृत्यु भएको भन्दै स्थानीयहरुले स्वास्थ्य कार्यालय बैतडीमा पनि जानकारी गराएका छन् ।
आदर्शको शंकास्पद मृत्यु भएपछि स्थानीयहरु आन्दोलनमा उत्रिएका थिए । स्थानीयले आन्दोलित हुँदै बिहीबार बिहानैदेखि गोकुलेश्वर–गन्ना–लटिनाथ सडकखण्ड ठप्प पारेका थिए ।
घटनाको विषयमा सबै पक्षबाट अनुसन्धान गरिने र पालिकाको तर्फबाट उचित क्षतिपुर्ती दिने विषयमा सहमती भएपछि आन्दोलन स्थगित भएको छ ।
गाउँपालिकाले ५ लाख क्षतिपुर्ती र थप किरिया खर्च उपलब्ध गराउने सहमती जुटेको स्थानीय धु्रब रानाले बताउनुभयो । यसैगरी शवको पोष्टमाटम गरी छानबिन गरिने सहमती भएको छ । सहमती जुटेपछि गोकुलेश्वर–गन्ना–लटिनाथ सडकखण्ड पनि खुलेको छ । मृतक बालकको पोष्टमाटम गर्न शवलाई गोकुलेश्वर अस्पतालतर्फ लगिएको छ ।
गाउँपालिकाको तर्फबाट उपाध्यक्ष भगिरथ बोहरा, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश सिंह बोहरा, वडा नं २ का वडा अध्यक्ष नवराज घरडी तथा वडा नं ३ का वडा अध्यक्ष रघुबिर बोहरा र आफन्तबीच सहमती जुटेको हो ।
यसैबीच शिशुको के कति कारणले मृत्यु भयो भनेर पोष्टमाटम गरेपछि मात्रै खुल्ने स्वास्थ्य कार्यालयका सूचना अधिकारी विपीन लेखकले बताउनुभयो । उहाँले भन्नुभयो,“ खोपकै कारण शिशुको मृत्यु भएको भन्न सकिन्न, ९९ प्रतिशत खोप विश्वशनीय हुन्छ । शव परीक्षणपश्चात सबैकुरा थाहा होला। ”
घटनाबारे अनुसन्धान गर्न विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओे)को टोली आउने सूचना अधिकारी लेखकले बताउनुभयो । उहाँले भन्नुभयो,“ हामीले घटनाबारे माथि जानकारी गराइसकेका छौं, अनसन्धानका लागि डब्ल्यूएचओे को टोली आउने कुरा छ । ”
