सुदूरपहाडमा दोस्रोपटक हिमपात

बैतडी: बैतडीसहित सुदूरपश्चिम प्रदेशका उच्च पहाडी क्षेत्रमा दोस्रोपटक हिमपात भएको छ ।

मौसममा आएको परिवर्तनसंगै बैतडीको ढोल्यामोड, सिगासलगायतका क्षेत्रमा हिमपात भएको सञ्चारकर्मी सुरेश महराले जानकारी दिनुभयो ।

बैतडीसंगै,डडेल्धुरा,डोटीलगायतका पहाडी जिल्लाका उच्च लेकाली भेगमा पनि हिमपात भएको छ ।
वर्षा र हिमपातले किसान भने हर्षित भएका छन् । खडेरीका कारण हिउँदेबाली सुक्न लागेको बेला वर्षा र हिमपातले बालीनाली सप्रिने भन्दै खुसी भएका हुन् ।
लामो समयपछि वर्षा भएकाले हिउँदे बाली र फलफूल सप्रिने आशा पलाएकोले किसान खुसी भएका हुन् ।

यसैबीच हिमपातका कारण यहाँको जनजीवन पनि प्रभावित भएको छ । हिमपात र वर्षाका कारण चिसो बढेको छ । चिसोका कारण जनजीवन पनि प्रभावित भएको हो ।
दैनिक ज्यालामजदुरी गर्ने मजदुर,बालबालिका र बृद्धबृद्धा बढी प्रभावित भएका छन् ।

हिमपातले चिसो बढेकाले स्वास्थ्य सावधानी अपनाउन स्वास्थ्यकर्मीले सुझाएका छन् । चिसोले बालबालिका तथा वृद्धवृद्धाहरुलाई बढी असर गर्ने भएकाले उनीहरुको ख्याल गर्न आग्रह गरिएको छ ।

यसअघि गत मंसिर अन्तिम साता पनि हिमपात भएको थियो ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!