काठमाडौं: पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) काे उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दैछन्।
त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेकाे छ।
बिहीबार जनकपुरले दोस्रो क्वालिफायरमा कर्णाली याक्सलाई दुई विकेटले निराश पार्दै सुदूरपश्चिमसँगको उपाधि भिडन्त पक्का गरेको थियोे ।
समूह चरण र प्लेअफमा सुदूरपश्चिमसँग जनकपुर पराजित भएको थियो । समूह चरणमा सुदूरपश्चिमसँग ७२ रन तथा प्लेअफमा आठ विकेटले जनकपुर स्तब्ध भएको थियो । अब फाइनलमा एकपटक फेरि नम्बर १ र २ टोलीको प्रतिस्पर्धा हुनेछ ।
यो फाइनल विशेष हुनेछ, किनकि सुदूरपश्चिमसँग जनकपुरका लागि बदला लिने अवसर हुनेछ भने सुदूरपश्चिमले आफ्ना नजिकका प्रतिस्पर्धीविरुद्ध जितको ह्याट्रिक बनाउन चाहनेछ ।
विजेताले १ कराेड १० लाख पुरस्कार पाउनेछ। उपविजेताले ५१ लाखमा चित्त बुझाउनुपर्नेछ।
नेपाल क्रिकेट संघकाे आयाेजनामा मंसिर १५ गतेदेखि सुरू भएको प्रतियोगितामा ८ टाेलीकाे सहभागीता रहेकाे थियाे।


