काठमाडौं: नेपाल एसिसी यु–१९ महिला एसिया कपको सुपर फोरमा प्रवेश गरेको छ। सोमबार भएको खेलमा नेपालले पाकिस्तानलाई ६ विकेटले पराजित गरेको हो।
पाकिस्तानले दिएको १०५ रनको लक्ष्य नेपालले १९ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो। लगातारको दोस्रो हारसहित पाकिस्तानले पाँचौं स्थानका लागि खेल्ने भएको छ। पाकिस्तान पहिलो खेलमा भारतसँग नौ विकेटले पराजित भएको थियो। अब नेपालले मंगलबार भारतसामु चुनौती पेस गर्नेछ।
यही खेलबाट समूह बी को विजेता टुंगो लाग्ने छ। अर्को समूहबाट श्रीलंका र बंगलादेश सुपर फोरमा पुगिसकेका छन्। मलेसियाले भने पाँचौं स्थानका लागि पाकिस्तानसँग खेल्ने तय भइसकेको छ।
नेपालले सुरुआत भने राम्रो गर्न सकेको थिएन। २३ रन बनाउँदा नै ओपनर सावित्री धामीलाई फतिमा खानले बोल्ड गरेकी थिइन्। उनले आठ रन मात्रै जोडिन्। नेपालको स्कोर बोर्डमा थप चार रन जोडिँदा अर्की ओपनर साना प्रभिन पनि फतिमाबाटै १० रनमा रनआउट भइन्।
तर, तेस्रो नम्बरमा आएकी कप्तान पूजा महताेले अविजित ४७ रन बनाउँदै नेपालको जित पक्का गरिन्। ४७ बल नै खेलेकी उनले तीन चौका प्रहार गरिन्। उनले तेस्रो विकेटका लागि उपकप्तान सोनी पाख्रिनसँग ३१ रनको साझेदारी गरेकी थिइन्। १३ रन बनाएकी सोनी कोमल खानबाट रन आउट भइन्।
यस्तै, जोत्सनिका मरासिनीले खाता खोल्न सकिनन्। तर, पूजाले सिमना केसीसँग पुन: ३९ रनको साझेदारी गर्दै जित पक्का गरिन्। सिमना १२ बल खेल्दै १२ रनमा अविजित रहिन्। पाकिस्तानकी फतिमा र कुरातुलाइनले समान एक विकेट लिइन्।
त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको पाकिस्तानले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १०४ रन बनाएको थियो।
पाकिस्तानकी ओपनर कोमल खानले सर्वाधिक ३८ रन बनाइन्। ४४ बल खेलेकी उनले दुई चौका प्रहार गरिन्। मध्यक्रमकी महम अनिसले २९, रवैल फरहानले १३ कप्तान जोफिसान अय्याजले १२ रन बनाउँदा अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन्।
नेपालकी कप्तान पूजा महतोले सर्वाधिक दुई विकेट लिइन्। चार ओभर बलिङ गरेकी उनले २७ रन खर्चिइन्। यस्तै, रचनाकुमारी चौधरी, रिया शर्मा र सिमना केसीको नाममा समान एक विकेट रह्यो।
