रेडियन्ट ग्याँस बिडिसिए कपः थालिगाडा विजयी, बर्तोली आउट

बैतडी:
बैतडीमा जारी २१ औं संस्करणको रेडियन्ट ग्याँस बिडिसिए कप एकदिवसीय क्रिकेट प्रतियोगिता अन्र्तगत आज भएको खेलमा थालिगाडा क्रिकेट क्लब विजयी भएको छ । थालिगडाले बर्तोली क्रिकेट क्लबलाई ५९ रनले हरायो ।

जितका लागि पाएको २३१ रनको बिशाल लक्ष्य पछ्याएको बर्तोलीले २५ ओभरमा १७१ रन मात्रै बनाउन सक्यो । जसका नरेन्द्र भण्डारीले सर्वाधिक ३१ रन बनाएपनि टोलीलाई जिताउन सकेनन् ।

यो हारसंगै बर्तोली प्रतियोगिताबाट बाहिरिएको छ । बर्तोलीको यो दोस्रो हार हो । यसअघि हिजो पञ्चकोटी क्रिकेट क्लबसंग १४३ रनले पराजित भएको थियो ।

थालिगडाका मनोज ऐरीले ५ विकेट झारे । उनी म्यान अफ द म्याच समेत चुनिए ।

यसअघि दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा पहिला ब्याटिंग गरेको थालिगाडाले २५ ओभरमा ६ विकेटको क्षतीमा २३० रन बनायो ।

उसका हरिस कार्की र नविन ठगुन्नाले अर्धशतक प्रहार गरे । हरिसले ५० र नविन ५४ रनमा अविजित रहे ।
बर्तोलीका सन्दीप भण्डारीले ४ विकेट झारे ।

बैतडी जिल्ला क्रिकेट संघको आयोजना सञ्चालित प्रतियोगितालाई प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट छनौट प्रतियोगिताको रूपमा समेत लिइएको छ ।

मंसिर ११ गतेदेखि सुरु भएको प्रतियोगिता मंसिर ३० गतेसम्म चल्ने बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोदबहादुर चन्दले जानकारी दिनुभयो ।

दुई चरणमा हुने प्रतियोगितामा पहिलो चरणमा हाल प्लेट च्याम्पियनसिपका खेलहरु भइरहेका हुन् ।

प्लेट च्याम्पियनसिप सम्पन्न पश्चात मंसिर २० देखि इलाइट च्याम्पियनसिपका खेलहरू सञ्चालन हुने बैतडी जिल्ला क्रिकेट संघका सचिव सिद्धराज बोकटीले जानकारी दिनुभयो ।

यो प्रतियोगिता पहिलोपटक टर्फ पिचमा भइरहेको छ । नेपाल क्रिकेट संघको सहयोगमा दशरथचन्द खेलमैदान,सुन्दरखालीमा टर्फ पिच निर्माण गरिएको हो ।

प्रतियोगिताको प्रथम पुरस्कार १ लाख,द्वितीय पुरस्कार ५० हजार र प्लेट च्याम्पियन हुने टोलीलाई २५ हजार, म्यान अफ द सिरिजलाई १५ हजार पुरस्कार दिइनेछ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!