पाटन प्रिमियर लिग: गुरूखाेला फाइनलमा,आयाेजक बाहिरियो

बैतडी: बैतडीको पाटनमा जारी चौथो संस्करणको पाटन प्रिमियर लिगकाे फाइनलमा काेइनाेडा टिम गुरूखाेला लायन्स पुगेको छ।
आज सम्पन्न पहिलाे सेमिफाइनल खेलमा आयाेजक पाटन क्रिकेट क्लबलाई ८७ रनले हराउदै गुरूखाेला फाइनलमा पुगेको हाे।
श्रीकृष्ण मावि पाटनकाे खेलमैदानमा टस हारेर ब्याटिङकाे निम्ता पाएकाे गुरूखाेला १८.४ ओभरमा १७६ रनमा समेटियाे । जसमा कप्तान वसन्त खत्रीले ४० र निराजन गाैतमले ३७ रनकाे याेगदान गरे।
पाटनका लक्ष्मण कार्कीले ३ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रेकाे पाटन १५.४ ओभरमा ८९ रनमा समेटियाे । सुमित बुडालले सर्वाधिक ३५ रन हिर्काएपनि जितका लागि सम्भव हुन सकेन।
गुरूखाेलाका विकास आग्रीले ४,कप्तान वसन्त खत्री र प्रदीप चन्दले २/२ विकेट दिए ।

वसन्त म्यान अफ द म्याच चुनिएका स्काेरर तिलक बाेहराले जानकारी दिनुभयाे।

गुरूखाेलाले उपाधिका लागि पञ्चेश्वर गाउँपालिका र पाटन भ्याली क्रिकेट क्लबमध्ये विजेतासंग खेल्नेछ।
पञ्चेश्वर र भ्यालीबीचकाे दाेस्राे सेमिफाइनल अहिले हुँदैछ ।

पाटन क्रिकेट क्लबको आयोजनामा असोज ३० गतेदेखि शुरू भएको प्रतियोगिताकाे फाइनल खेल बुधबार हुनेछ।

प्रतियोगिताको प्रथम पुरस्कार १ लाख २३ हजार ४५६ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने क्लबका अध्यक्ष किरन चन्दले बताउनुभयो।

द्वितिय पुरस्कार ५६ हजार ७८९ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने क्रिकेट क्लबले जनाएको छ ।

यसैगरी म्यान अफ द सिरज वाफत १२ हजार ३४५ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने छ । बेस्ट बलर र ब्याट्सम्यानलाई पनि समान ६ हजार ७८९ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने छ ।

यसअघि पहिलो संस्करणको पाटन प्रिमियर लिग (पिपिएल) क्रिकेटको उपाधि कैलपाल क्रिकेट क्लब जर्ग,दोस्रो भीमदत्त बहुप्राविधिक शिक्षालय (बिडिपिआइ) र तेस्रो मेलौली नगरपालिकाले हात पारेको थियो ।
 

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!