पन्ज्युनयाँ क्रिकेट लिगकाे सेमिफाइनल समीकरण पूरा

बैतडी: बैतडीको दाेगडाकेदार गाउँपालिका ६ मा जारी तेस्रो संस्करणको पन्ज्युनयाँ क्रिकेट लिगकाे सेमिफाइनल समीकरण पूरा भएकाे छ।
आज सम्पन्न क्वाटरफाइनलकाे अन्तिम खेलबाट बस्काेट सुपर किङ्स बी सेमिफाइनल पुगेकाे छ।

बस्काेटले शुसितम युवा क्लब बी टिमलाई २ विकेटले हरायाे । शुसितमले दिएकाे ११३ रनकाे लक्ष्य बस्काेटले १४.२ ओभरमा ८ विकेटको क्षतीमा पूरा गर्याे ।
यसअघि पहिला ब्याटिङ गरेकाे शुसितमले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ११२ रन बनायाे।

आजै बिहान हुने भनिएकाे अर्काे क्वाटरफाइनल खेलमा चम्तडी स्टार उपस्थित नभएपछि वाक ओभर पाएर आयाेजक शुसितम युवा क्लब ए टिम अन्तिम चारमा सुरक्षित भयाे।

हिजाे सम्पन्न दुई क्वाटरफाइनलबाट बस्काेट सुपर किङ्स ए र हुनैनाथ मालिकार्जुन क्रिकेट क्लब सेमिफाइनल प्रवेश गरिसकेका छन्।

यसैबीच सेमिफाइनल खेलहरू आइतबार हुनेछन् ।
पहिलाे सेमिफाइनलमा बस्काेट सुपर किङ्स ए र हुनैनाथ मालिकार्जुन क्रिकेट क्लब भिड्दा दाेस्राेमा आयाेजक शुसितम युवा क्लब ए र बस्काेट सुपर किङ्स बी आमनेसामने हुनेछन् ।

असाेज २९ गतेदेखि शुरू भएकाे प्रतियोगिताकाे फाइनल खेल कात्तिक १२ गते हुने आयाेजक शुसितम युवा क्लबका सचिव जगदीश कार्कीले जानकारी दिनुभयाे।

उपाधि विजेता टाेलीले नगद १ लाख ५५ हजार ५५५ ट्रफी,मेडल र प्रमाणपत्र पुरस्कार पाउने आयाेजक शुशितम युवा क्लबका अध्यक्ष वीरसिंह कार्कीले बताउनुभयो ।

यस्तै उपविजेता टाेलीले नगद ५५ हजार ५५५ ट्रफी,मेडल र प्रमाणपत्र पुरस्कार दिइनेछ।

यसका साथै सेमिफाइनलबाट बाहिरिने टाेलीहरूलाई सान्त्वना स्वरूप १०/१० हजार, सर्बाेत्कृष्ट खेलाडीले ११ हजार १११,सर्बाेत्कृष्ट ब्याटर र बलरले समान ७ हजार ७७७ ,उदयीमान खेलाडीलाई ३ हजार ३३३, प्रत्येक खेलका उत्कृष्ट खेलाडीले १ हजार १११ पुरस्कार पाउने जनाएको छ।

प्रतियोगिताले क्रिकेटकाे विकासका साथै खेलाडी उत्पादनमा सहयाेग पुग्ने विश्वास गरिएको दाेगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताउनुभयो ।

यसअघि सम्पन्न पहिलाे संस्करणको पन्ज्युनयाँ क्रिकेट लिगकाे उपाधि दाेगडास्टार क्लब र दाेस्राे आयाेजक शुशितम युवा क्लबले जितेको थियाे।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!