काठमाडौं: सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष यू–२० च्याम्पियनशिपकाे फाइनलमा पुगेको छ।
श्रीलङ्काको कोलम्बोमा आज भएको प्रतियोगिता अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले तुर्कमिनेस्तानलाई पराजित गर्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हाे ।
उक्त खेलमा नेपालले तुर्कमिनेस्तानलाई ३–० सोझो सेटमा पराजित गर्याे। नेपालले पहिलो सेट २५–१४, दोस्रो सेट २५–२१ र अन्तिम सेट २५–२० अङ्कले जितेको हो ।
जितसँगै नेपालले पाँच खेलबाट १० अङ्क जोडेको छ । यसअघि नेपालले श्रीलङ्का र माल्दिभ्सलाई समान ३–० सेटमा पराजित गरेको थियो भने उज्वेकिस्तानसँग ३–१ र किर्गिस्तानसँग ३–२ सेटमा हार बेहोरेको थियो ।
तुर्कमिनेस्तानले पाँच खेलबाट समान १० अङ्क नै जोडेको छ । उसले माल्दिभ्स र किर्गिस्तानलाई समान ३–० तथा श्रीलङ्कालाई ३–१ को सेटमा पराजित गरेको थियो भने तुर्कमिनेस्तान उज्वेकिस्तानसँग ३–१ को सेटमा पराजित भएको थियो ।
उपाधि भिडन्तमा शनिबार नेपाल र उज्बेकिस्तान प्रतिस्पर्धा गर्नेछन् ।
