काठमाडौं:काठमाडौंमा आउँदो कात्तिक १ गतेदेखि सातौं संस्करणको महिला साफ च्याम्पियनशिप फुटबल हुने भएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा कात्तिक १४ गतेसम्म चल्ने प्रतियोगिताको तयारी पूरा भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ ।
च्याम्पियनशिपमा आयोजक नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, भारत, भुटान र बङ्गलादेश गरी सात वटा देशले प्रतिस्पर्धा गर्नेछन् ।
सहभागी हुने टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल रहेको समूह ‘बी’ मा श्रीलङ्का, माल्दिभ्स र भुटान पनि छन् । यस्तै समूह ‘ए’ मा भारत, पाकिस्तान र बङ्गलादेश छन् ।
प्रतियोगिताको उद्घाटन खेलमा कात्तिक १ गते भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ । आयोजक नेपालले भने कातिक २ गते भुटानसँग खेल्दै प्रतियोगिता शुरुआत गर्ने छ ।
नेपाल अहिलेसम्म पाँच पटक साफ महिला च्याम्पियनशिपको फाइनलमा पुगे पनि उपाधि जित्न सकेको छैन । महिला साफ च्याम्पियनशिपको सबैभन्दा सफल टोली भारतले पाँच पटक उपाधि जितेको छ । यस्तै बङ्गलादेशले एक पटक उपाधि जितेको थियाे ।
