सुदूरपश्चिममा बुढी पोल्ने पर्व मनाइँदै

बैतडी:बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा आज बुढी पोल्ने पर्व धुमधामसंग मनाइँदैछ । विजय उत्सवको रुपमा मनाइने यो पर्वमा बुढी अर्थात राक्षसीे पुतनालाई पोल्ने गरिन्छ । 

भाद्र संक्रान्तिका दिन गाडिएको बुढीलाई आज साँझ पोल्ने चलन रही आएको स्थानीय संस्कृतिका जानकार जयानन्द भट्टले जानकारी दिनुभयाे । द्वापर युगमा भगवान श्री कृष्णले राक्षसी प्रवृतिकी पुतनालाई मारेपछि सोही दिनको सम्झनामा बुढी पोल्ने गरिएको छ। 

द्वापर युगमा विशाक्त दुध सेवन गराई बालबालिकाहरुको ज्यान लिने गरेकी राक्षसी पुतनालाई भगवान श्री कृष्णले दुध चुसी मारेको विजयोत्सवका रुपमा बुढी पोल्ने पर्व मनाइने गरेको हाे। 

सुदूरपश्चिममा भाद्र संक्रान्तिका दिन गाडिएको बुढीलाई आज साँझपख पोल्ने र सोही ठाउँमा काक्रा खाँदै लुतो फाल्ने  प्रचलन समेत रही आएको छ । ओल्के संक्रान्तिका दिन गोठालाहरुले बुढीको प्रतिमा राखेपछि दैनिक त्यसमा रुखका हाँगाहरु थप्ने गर्छन् । भाद्र संक्रान्तिका गाडिएको बुढीलाई आज पोलेमा सुख शान्ति प्राप्त हुने विश्वास रही आएको स्थानीय प्रेम सिंह धामीले बताउनुभयाे । बुढी जलाउँदा बनेको खरानीको तिलक बनाएर गाईलाई लगाउने चलन समेत रही आएको छ । 

ओल्के संक्रान्तिका दिन गाडिएको बुढीलाइ आज असोज संक्रान्तिका साँझ प्रत्येक घर घरबाट आगोको राँको एकैपटक निकाली एकैसाथ पोलेर ‘बूढी पोल्ने’ पर्व मनाउने परम्परा रहेको छ । पुतनाको स्वरुपमा तयार गरी सिंगारिएको बाबियोलाई आज बिहान गोठबाट निकालेर दिनभरी घाममा सुकाइ साँझ दोबाटोमा लगेर जलाउने गरिन्छ । साँझपख काँक्रो चपाएर जलेको पुतनामा फाल्दै जोडले ‘थुई बुढी थुई’ भन्ने चलन रही आएको छ । 
नयाँपुस्ताकाे ध्यान नपुग्दा बुढी पोल्ने पर्व पछिल्लो समयमा लोप हुँदै गएको छ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!