कैलाली: सूदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत प्राप्त भएकाे छ। बुधबार प्रदेशसभाको बैठकबाट मुख्यमन्त्री शाहले विश्वासको मत लिएकाेमा उहाँले ३६ मत प्राप्त गर्नुभयाे।
५३ सदस्यीय प्रदेशसभामा विश्वासको मतका प्राप्तिका लागि २७ मत भए पुग्छ । प्रदेश सभाको बैठकमा ४५ जना उपस्थित थिए ।
१० दिनअघि साउन २० गते मुख्यमन्त्री नियुक्त हुनुभएका शाहले नेपाली कांग्रेसका १८, नेकपा एमालेका ११ र नागरिक उन्मुक्तिका ७ गरी ३६ मत पाउनुभयाे।
उहाँको विपक्षमा ८ मत परेको छ । एकीकृत समाजवादीका ४ र माओवादीका ४ मत मत विपक्षमा परेको छ । माओवादीका १० सांसदमध्ये ६ जना अनुपस्थित रहेका थिए । यस्तै राप्रपा अनुपस्थित र स्वतन्त्र सांसदको मत तटस्थ रहेको थियो ।
यसअघि मुख्यमन्त्री रहनुभएका दीर्घबहादुर साेडारीले पदबाट राजीनामा दिएपछि शाह नयाँ मुख्यमन्त्री नियुक्त हुनुभएको हाे।
