बैतडी: बैतडीका १० वटै स्थानीय तहमा नेपाली कांग्रेसको अधिवेशन सम्पन्न भएको छ । जिल्लाका सबै पालिकामा निर्विरोध नेतृत्व चयन गर्दै अधिवेशन सम्पन्न भएको नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले जानकारी दिनुभयो ।
चार पालिकाको अधिवेशन मंगलबार सम्पन्न भएको थियो भने बाँकी ६ पालिकाको अधिवेशन बुधबार सम्पन्न भएको हो । जारी अधिवेशनमा पार्टीका नेता तथा कार्यकर्ताको उत्साहपूर्ण सहभागिता रहेको कांग्रेस बैतडीले जनाएको छ ।
कांग्रेसको वडा अधिवेशनमा पनि समावेशी सहभागिता उत्साहजनक रहेको सभापति चन्दले बताउनुभयो। जिल्लाका ८४ वडामध्ये ५ वडामा दलित समुदायबाट सभापति चयन भएका छन् भने २ वडामा महिला सभापति निर्वाचित भएका छन् ।
पालिकागत रूपमा निर्विरोध निर्वाचित नेतृत्वमा दशरथचन्द नगरपालिकामा रणबहादुर बोहरा, पाटन नगरपालिकामा रमेशसिंह महरा, मेलौली नगरपालिकामा परमानन्द भट्ट, पुर्चौडी नगरपालिकामा मोहनसिंह साउद र पञ्चेश्वर गाउँपालिकामा लोकेन्द्रबहादुर चन्द चयन भएका छन् ।
यस्तै दोगडाकेदार गाउँपालिकामा डम्बरसिंह कार्की, शिवनाथ गाउँपालिकामा महामलसिंह साउद, सुर्नया गाउँपालिकामा उत्तमबहादुर चन्द, सिगास गाउँपालिकामा दीपकसिंह धामी र डिलासैनी गाउँपालिकामा देवराज जोशी सभापतिमा निर्विरोध चयन भएका बताइएको छ ।
पालिका अधिवेशनले सभापतिसहित सबै पदमा निर्विरोध नेतृत्व चयन गरेको कांग्रेस बैतडीले जनाएको छ ।
