बिडिसिए कपः पञ्चकोटी अन्तिम चारमा सुरक्षित,विरेन्द्र साउँद उत्कृष्ट

बैतडी: पञ्चकोटी क्रिकेट क्लब लगातार दोस्रो जितका साथ प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको बैतडी छनौट तथा बिडिसिए कपको २२ औं संस्करणको सेमिफाइनलमा पुगेको छ ।
सेमिफाइनल पुग्ने क्रममा पञ्चकोटीले आज केदार नागार्जुन क्रिकेट क्लबलाई २७४ रनले पराजित गर्यो ।

यसअघि हिजो कालाशैनीमाथि २०६ रनको जित निकाल्दै पञ्चकोटीले उत्कृष्ट सुरुवात गरेको थियो ।

आज पहिला ब्याटिंग गरेको पञ्चकोटी ३८ दशमलब २ ओभरमा ३४९ रनमा समेटियो ।

जसमा प्लेयर अफ द म्याच समेत भएका विरेन्द्र साउँदले अर्धशतकीय पारी खेल्दै ८९ र जीवन कार्कीले ५५ रनको योगदान गरे ।

केदार नागार्जुनका अर्विन रावतले ५ विकेट लिए ।

दशरथचन्द क्रिकेट मैदान,सुन्दरखालीमा जवाफी ब्याटिंग गरेको केदार नागार्जुन १६ दशमलब २ ओभरमा ७५ रनमा अलआउट भयो ।

उसका अर्विन रावतले सर्वाधिक २४ रन बनाए ।

पञ्चकोटीका लोकेन्द्र चन्दले ४ विकेट हात पारे ।

बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा कात्तिक २१ गतेदेखि सुरु भएको प्रतियोगितामा १२ टोली सहभागी रहेका छन् ।

मंसिर ५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार पुरस्कार पाउने बैतडी जिल्ला क्रिकेट संघका सचिव सिद्धराज बोकटीले जानकारी दिनुभयो ।

यस्तै म्यान अफ द सिरिजलाई १० हजार,बेस्ट बलर र बेस्ट ब्याटरलाई जनही पाँच हजार पुरस्कार प्रदान गरिनेछ ।

प्रत्येक खेलका प्लेयर अफ द म्याचलाई एकहजार पुरस्कारको समेत व्यवस्था गरिएको छ ।

प्रतियोगिताबाट प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटका लागि खेलाडी छनौट गरिने बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोदबहादुर चन्दले बताउनुभयो ।

गत वर्ष सम्पन्न २१ औं संस्करणको बिडिसिए कप जिल्लास्तरीय एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि नागार्जुन रणसैनी युवा क्लब(एनआरवाइसी)ले जितेको थियो ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!