बैतडीमा डेङ्गी संक्रमण बढ्दै,अठार जनामा पुष्टि

बैतडी: सुदूरपश्चिमको पहाडी जिल्ला बैतडीमा डेङ्गी संक्रमण बढ्दै गएको छ ।

गएको तीन महिनायता जिल्लाभरीका १८ जनामा डेङ्गी संक्रमण देखिएको स्वास्थ्य कार्यालय बैतडीका ल्याब टेक्निसियन निरीक्षक जयसिंह बडालले बताउनुभयो ।

स्वास्थ्य कार्यालयमा प्राप्त तथ्यांक अनुसार मेलौली नगरपालिकाका ८ जना, दशरथचन्द नगरपालिकाका ६ जना, पुर्चौंडी नगरपालिकाका ३ जना र पाटन नगरपालिकाका एक जनामा डेङ्गी संक्रमण देखिएको हो । जिल्लाका अन्य स्थानीय तहमा डेङ्गीका बिरामी फेला नपरेका जनाएको छ ।

गएको साउन, भदौ र असोज गरेर तीन महिनामा १८ जनामा डेङ्गी देखिएको बडालले बताउनुभयो ।

गत बर्ष जिल्लाभरीका १ सय ६ जनामा डेङ्गी संक्रमण पुष्टि भएको थियो ।

लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान जिल्लाभरी सञ्चालन भएको छ ।

एडीस जातको संक्रमित पोथी लामखुट्टेको टोकाइबाट डेङ्गी सर्ने गर्दछ । त्यसैले डेङ्गीबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट बच्नुपर्नेमा स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले जोड दिनुभयो ।

यो महिनामा पनि डेङ्गी संक्रमणको जोखिम कायमै रहेकाले लामखुट्टेको टोकाइबाट बच्नुपर्छ ।

डेङ्गी संक्रमण भएमा मानिसलाई कडा खालको ज्वरो आउने, टाउको दुख्ने, शरीरका जोर्नी तथा मांसपेशी दुख्ने, खाना खान मन नलाग्ने जस्ता लक्षण देखिन्छन् । यसका साथै नाक, गिजा र पेटबाट रगत बग्नेजस्ता कडा खालका लक्षणसमेत देखा पर्ने गर्दछन् ।

यस्ता खालका लक्षण देखिएमा डेङ्गी जाँच गर्नु आवश्यक रहेको र जाँच नगरीकनै जथाभावी औषधि सेवन गर्दा अन्य समस्या समेत निम्तिने भएकाले यो तर्फ सबैले सचेत हुनुपर्नेमा स्वास्थ्य कार्यालयले जोड दिएको छ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!