बैतडी: बैतडीमा एक अनमीले झाडीमै सुत्केरी सेवा दिएकी छन्।
कटौजपानी स्वास्थ्य चौकीकी अनमी रमिता जोशीले सुत्केरी व्यथाले च्यापेर स्वास्थ्य संस्था पुग्न नसकेकी पुर्चौडी नगरपालिका–१० बिजपुरकी बसन्ती विष्टलाई बाटाेमै सुत्केरी सेवा प्रदान गरेकी हुन्।
२२ वर्षीया बसन्तीले स्वास्थ्य चौकी पुग्न नपाउँदै, झाडीमै शिशुलाई जन्मदिएकी छन्। पुर्चौडी नगरपालिका–१० बिजपुरकी बसन्ती, डेलिभरीका लागि कटौजपानी स्वास्थ्य चौकी आउँदै थिइन्, तर समयले कुर्न मानेन। बाटोमै, जंगलझैँ झाडीबीच, उनले ३४०० ग्राम तौलको शिशुलाई जन्म दिइन्।
कटौजपानी स्वास्थ्य चौकीकी अनमी रमिता जोशीका अनुसार बसन्तीले चौकी पुग्न केही मिनेट बाँकी रहँदै सुत्केरी हुनु प¥यो। रमिता भन्छिन्, “त्यो बेला न घामको होस थियो, न छायाँको। न दिन, न रात; हामी सेवामा होमिएका थियौँ। जहाँ बिरामी, त्यहीँ अस्पताल भन्ने भावना बोकेर काम गरिरहेछौँ।”
बैतडीको विकट गाउँ दोगडाकेदार–८ स्थित कटौजपानी स्वास्थ्य चौकी ग्रामीण स्वास्थ्य सेवाको मेरुदण्ड बनेको छ। तर यहाँको अवस्था भने आफैँमा एउटा बिडम्बना हो। न त फोनकल लाग्छ, न इन्टरनेट। कहिले काँही घाम लाग्दा मात्रै एनटीसीको एक–आध डट सिग्नल देखिन्छ। संचारविहीनताको यही जालोले स्वास्थ्य सेवा पहुँचमा चुनौती थपेको छ।
रमिता जोशीले तल्लादेही, बिजपुर लगायतका दर्जनौं गाउँमा स्वास्थ्य सेवा पु¥याउँदै आएकी छन्। सरकारी तलबभन्दा पनि सेवाको भावनाले उनी अडिएकी छन्। उनी भन्छिन्, “सुत्केरी महिला ढाडमुनि खल्ती राखेर, टाउकोमा बोकेर स्वास्थ्य चौकीसम्म ल्याउने अवस्था छ। कतिपटक त बाटोमै बच्चा जन्मिन्छ।”
बसन्तीका श्रीमान् रोजगारीका लागि भारतमा छन्।
