काठमाडौं: एसीसी टी ट्वान्टी एसिया कपमा युएईलाई ४१ रनले हराउँदै पाकिस्तानले सुपर फोरमा स्थान बनाएकोछ । समूह ए को निर्णायक खेलमा पाकिस्तान जितका साथ सुपर फोरमा पुगेको हो ।
जित्नलाई १ सय ४७ रनको लक्ष्य पछ्याएको युएई १७.४ ओभरमा १ सय ५ रनमा अल आउट भयो । युएईका राहुल चोपराले ३५ बलमा १ चौका र १ छक्कासहित सर्वाधिक ३५ रन बनाए ।
पाकिस्तानका फखर जमानले ३६ बलमा २ चौका र ३ छक्कासहित सर्वाधिक ५० रन बनाए ।
त्यसअघि दुबई क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४६ रन बनाएको थियो । पाकिस्तानका फखर जमानले ३६ बलमा २ चौका र ३ छक्कासहित सर्वाधिक ५० रन बनाए ।
तल्लोक्रममा शाहिन शाह अफ्रिदीले १४ बलमा ३ चौका र २ छक्कासहित २९ रनको अविजित इनिङ खेले । उनले अन्तिम ओभरमा मोहम्मद रोहिदलाई दुई छक्का र एक चौकासहित महत्वपूर्ण १८ रन जोडेका थिए ।
युएईका तीव्र गतिका बलर जुनैद सिद्दिकीले ४ ओभरमा १८ रन खर्चेर ४ विकेट लिए । अर्का स्पिनर सिमरनजित सिँहले ४ ओभरमा २६ रन खर्चेर ३, ध्रुब परेशारले १ विकेट लिए ।
समूह ए बाट भारत लगातार दुई जितका साथ सुपर फोरमा पुगि सकेको छ । अव शुक्रबार भारत र ओमान खेल्नेछन् । उक्त खेलपछि समूह ए को विजेता र उपविजेता टुंग्गो लाग्नेछ ।
समूह बी मा श्रीलंका २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । श्रीलंकाले अन्तिम खेल बिहीबार अफगानिस्तानसँग खेल्नेछ । उक्त खेलमा श्रीलंका विजयी भएमा अपराजित रहँदै समूह विजेताको रुपमा सुपर फोरमा पुग्नेछ । श्रीलंका विजयी हुँदा बंगलादेश पनि ४ अंकका साथ सुपर फोरमा पुग्नेछ ।
तर अन्तिम खेलमा अफगानिस्तान विजयी भएमा भने श्रीलंका, बंगलादेश र अफगानिस्तानको समान ४-४ अंक हुनेछ । यो अवस्थामा नेटरनरेटमा माथि रहने दुई टोली सुपर फोरमा पुग्नेछन् । हाल श्रीलंकाको नेटरनरेट प्लस १.५४६, बंगलादेशको माइनस ०.२७० र अफगानिस्तानको प्लस २.१५० छ ।
बंगलादेश ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमाछ । अफगानिस्तान २ खेलमा २ अंकका साथ तेस्रो स्थानमा छ ।
