काठमाडौं: युएईमा जारी एसीसी टी-२० एसिया कपमा
बंगलादेशले अफगानिस्तानमाथि ८ रनको रोमान्चक जित हात पारेकोछ । योसँगै समूह ‘बी’ मा श्रीलंका, बंगलादेश र अफगानिस्तानबीच सुपर फोरमा पुग्न रोमाञ्चक समिकरण बनेकोछ ।
समूह बी मा श्रीलंका २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । श्रीलंकाले अन्तिम खेल बिहीबार अफगानिस्तानसँग खेल्नेछ । उक्त खेलमा श्रीलंका विजयी भएमा अपराजित रहँदै समूह विजेताको रुपमा सुपर फोरमा पुग्नेछ । श्रीलंका विजयी हुँदा बंगलादेश पनि ४ अंकका साथ सुपर फोरमा पुग्नेछ ।
तर अन्तिम खेलमा अफगानिस्तान विजयी भएमा भने श्रीलंका, बंगलादेश र अफगानिस्तानको समान ४-४ अंक हुनेछ । यो अवस्थामा नेटरनरेटमा माथि रहने दुई टोली सुपर फोरमा पुग्नेछन् । हाल श्रीलंकाको नेटरनरेट प्लस १.५४६, बंगलादेशको माइनस ०.२७० र अफगानिस्तानको प्लस २.१५० छ ।
बंगलादेश ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमाछ । अफगानिस्तान २ खेलमा २ अंकका साथ तेस्रो स्थानमा छ ।
समूह ए बाट भारत लगातार दुई जितका साथ सुपर फोरमा पुगि सकेको छ । बुधबार युएई र पाकिस्तानबीचको विजेता पनि सुपर फोरमा पुग्नेछ । सुपर फोरमा सबै टोलीले एकअर्कासँग खेलेपछि शीर्ष दुई टोली फाइनल खेल्नेछन् ।
गएराति सम्पन्न खेलमा जितका लागि पाएकाे १ सय ५५ रनको लक्ष्य पछ्याएको अफगानिस्तान २० ओभरमा १ सय ४६ रनमा अल आउट भयो । अफगानिस्तानका रहमानउल्लाह गुरबाजले ३५ र आजमतुल्लाह ओमरजाईले ३० रन बनाए
बंगलादेशका मुश्ताफिजुर रहमानले सर्वाधिक ३, रिसाद हसन, नासुम अहमद र तस्किन अहमदले २-२ विकेट लिए ।
त्यसअघि आबुधावीमा टस जितेर पहिला ब्याटिङ रोजेको बंगलादेशले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै १ सय ५४ रन बनाएको थियो । बंगलादेशका ओपनर तान्जिद हसनले ३१ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ५२ रन बनाए । अर्का ओपनर सैफ हसनले २८ बलमा २ चौका र १ छक्कासहित ३० रन बनाए ।
अफगानिस्तानका राशिद खान र नुर अहमदले २-२ विकेट लिए । समान ४ ओभर बलिङ गर्दा राशिदले २६ र नुरले २३ रन दिदै बंगलादेशलाई विशाल योगफल बनाउनबाट रोकेका थिए । त्यस्तै आजमतुल्लाह ओमरजाईले १ विकेट लिए ।
