बैतडी: बैतडी कारागारबाट फरार रहेका चार कैदीबन्दीलाई आज भारतबाट पक्राउ गरिएको छ ।
भारतीय सीमा सुरक्षा बल एसएसबीको सहयोगमा उनीहरुलाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताउनुभयो ।
उहाँले भन्नुभयो,“ कैदीबन्दीहरु फरार भएपनि एसएसबीलाई हुलियासहित पठाएका थियौं र सीमाक्षेत्रमा पनि कडाई गरेका थियौं। फलस्वरुप समात्न सफल भएका छौं ।”
भारतसंग सीमा जोडिएको यहाँको मुख्य नाका झुलाघाट रहेपनि उनीहरु भने पञ्चेश्वरस्थित महाकाली नदीमा ट्यूवमार्फत भारत छिरेका आशंका गरिएको छ ।
प्रजिअ पौडेलका अनुसार पञ्चेश्वरस्थित महाकाली पारी भारतीय क्षेत्रबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।
गत मंगलबार राति यहाँको कारागारमा तोडफोड र आगजनी गरेर ६२ जना कैदीबन्दी फरार भएका थिए ।
जसमध्ये हालसम्म ४० जना सम्पर्कमा आइसकेको प्रजिअ पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो,“ फरार कैदीबन्दी खोज्न संयुक्त सुरक्षा टोलीले ‘अप्रेसन’ सञ्चालन गरिएको छ । अप्रेसनमार्फत फरार कैदी पक्राउ पर्न थालेका छन् । ”
यसअघि कारागारबाट भागेका कैदीबन्दी र थुनुवाहरुलाई सम्पर्कमा आउन प्रहरीले सार्वजनिक सूचना समेत जारी गरेको छ । अहिले पनि विभिन्न चौकीमार्फत भागेका कैदीबन्दी र थुनुवाहरु सम्पर्कमा आउने क्रम जारी रहेको बैतडीका प्रहरी प्रमुख,प्रहरी नायव उपरीक्षक दीपककुमार रायले बताउनुभयो ।
कारागारबाट कैदीबन्दी फरार हुँदा सुरक्षा चुनौती बढेको छ । विभिन्न जघन्य अपराधमा कारागारमा पुगेकाहरू धमाधम बाहिर निस्कन थालेपछि उनीहरूबाट सुरक्षा चुनौती थप बढेको हो ।
कतै भागेका कैदी रहेको जानकारी तथा आशंका भएमा खबर गर्न समेत गर्न समेत जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।
