हट्यो बैतडीको निषेधाज्ञा र कफ्र्यू,जनजीवन सामान्य बन्दै

बैतडी: जेनजीको प्रदर्शनपछि बैतडीमा लागेको कफ्र्यू तथा निषेधाज्ञा हटेको छ ।

प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले एक सूचना जारी गर्दै आजदेखि अर्को सूचना नभए सम्मका लागि कफ्र्यू तथा निषेधाज्ञा आदेश हटाइएकोे बताउनुभयो ।

सार्वजनिक सूचनामा भनिएको छ–‘ गत भाद्र २३ र २४ गतेको जेनजी नेतृत्वको आन्दोलन पश्चात जिल्लामा शान्ति र सुव्यवस्था कायम गरी जनजीवन सामान्य बनाउने सन्दर्भमा बैतडी जिल्ला भर कफ्र्यू तथा निषेधाज्ञा आदेश जारी राखिएकोमा स्थिति सामान्य हुँदै गएकोले भाद्र २८ गतेदेखि अर्को सूचना नभएसम्म उक्त कफ्र्यू तथा निषेधाज्ञा हटाइएको व्यहोरा सूचित गरिन्छ।’

यसका साथै जिल्लाभर शान्ति र सुव्यवस्था कायम गरी जनजीवनलाई सहज बनाउने कार्यमा आवश्यक सहयोगका लागि सम्बन्धित सबैमा जिल्ला सुरक्षा समितिले अनुरोध समेत गरेको छ ।

यसैबीच निषेधाज्ञा र कफ्र्यू हटेसंगै यहाँको जनजीवन सामान्य बन्दै गएको बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयो ।

सार्वजनिक यातायात सञ्चालन भएका छन् भने बजार क्षेत्रमा पनि चहलपहल बढ्न थालेको छ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!