फरार कैदी देखेमा खबर गर्न प्रशासनको आग्रह,सुरक्षा चुनौती थपियो

बैतडी: कारागारबाट कैदीबन्दी फरार हुँदा सुरक्षा चुनौती बढेको छ ।

विभिन्न जघन्य अपराधमा कारागारमा पुगेकाहरू धमाधम बाहिर निस्कन थालेपछि उनीहरूबाट सुरक्षा चुनौती थप बढेको छ ।

मंगलबार यहाँको कारागारमा आगजनी र तोडफोड गरेर ६२ जना फरार भएका थिए । भागेकामध्ये ३१ जनालाई पक्राउ गरिसकेको छ बाँकी अझै फरार छन् ।

आपराधिक मानसिकता बोकेका कैदीहरु फरार हुँदा नागरिक र समाजका लागि सुरक्षाको खतरा हुने बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिनुभयो ।

कारागारबाट कैदीबन्दी भागेपछि आपराधिक घटना हुन सक्ने चिन्ता थपिएको छ ।
उहाँले भन्नुभयो,“विभिन्न अपराधमा संलग्न देखिएर दोषी ठहर भएका कैदी भागेपछि सुरक्षा चुनौती थपिएको छ । उनीहरुको मानसिकता नै आपराधिक हुने भएकोले नागरिक र समाजको लागि सुरक्षाको खतरा हुनसक्छन् ।”

फरार कैदीबन्दी खोज्न संयुक्त सुरक्षा टोली परिचालन गरिएको प्रजिअ पौडेलले बताउनुभयो ।

संयुक्त सुरक्षा टोलीले ‘अप्रेसन’ चलाएर फरार कैदीबन्दी खोजिरहेको बैतडीका प्रहरी प्रमुख,प्रहरी नायव उपरीक्षक दीपककुमार रायले बताउनुभयो ।

जिल्लाका सबै सुरक्षा निकायको संयुक्त टोलीले फरार कैदीलाई खोज्न ‘अप्रेसन’ सञ्चालन गरिएको छ । उहाँले भन्नुभयो,“ कैदीहरु फरार हुँदा आपराधिक घटना हुनसक्छन् । त्यसैले हामीले अपरेसन नै चलाएर पक्राउ गर्न थालेका हौं । ”

भागेका कैदीहरुलाई आफैं सम्पर्कमा आउन आग्रह गरिएको र नआउनेको हकमा अप्रेसन सञ्चालन गरेको उहाँले बताउनुभयो ।

कतै भागेका कैदी रहेको जानकारी तथा आशंका भएमा खबर गर्न समेत गर्न समेत जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

भारतसंग सीमा जोडिएको जिल्ला भएकोले सीमाक्षेत्रमा पनि कडाई गरिएको छ ।

सीमामा आवतआवत गर्दा अनिवार्य रुपमा परिचय खुल्ने कागजपत्र हेर्न गरिएको छ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!