बैतडी: डडेल्धुरा कारागारबाट भागेका ६ कैदी बैतडीबाट समातिएका छन् ।
संयुक्त सुरक्षा टोलीले जिल्लाको पाटन नगरपालिका १ सकारबाट उनीहरुलाई पक्राउ गरेको बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिनुभयो ।
भारततर्फ भागिरहेका भन्ने सूचनाको आधारमा संयुक्त सुरक्षा टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा डोटी र अछाम घर भएका दुई/दुई र दार्चुला र बैतडी घर घएका एक/एक जना रहेका छन् ।
उनीहरु कर्तव्य ज्यान मुद्दा,जवरजस्तीकरणी र चोरीसम्बन्धी मुद्दामा दोषी ठहर हुँदै जेल चलान भएका बताइएको छ ।
जेनजीको प्रदर्शका कारण बुधबार बिहानै डडेल्धुरा कारागार तोडफोड गरेर कैदीबन्दी फरार भएका थिए ।
पक्राउ परेका सबैलाई डडेल्धुरा प्रहरीको जिम्मा लगाउने तयारी भइरहेको प्रजिअ पौडेलले बताउनुभयो ।
कारागारबाट कैदी भागेपछि संयुक्त सुरक्षा टोलीले उनीहरुलाई खोज्न अप्रेसन चलाएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख,प्रहरी नायव उपरीक्षक दीपककुमार रायले बताउनुभयो ।
बैतडी कारागारबाट पनि ६३ जना फरार रहेका छन् । मंगलबार राति कारागारमा आगजनी र तोडफोड गरेर भागेका ६२ मध्ये चार जना नियन्त्रणमा रहेका छन् ।
बाँकी फरारहरुको खोजी भइरहेको छ ।
