लिपुलेक व्यापारिक मार्ग बनाउने सहमति आपत्तिजनक: मन्त्री भण्डारी
‘झुलाघाटमा पुल र पञ्चेश्वर परियोजना अगाडी बढ्छ’
बैतडी: उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लिपुलेक व्यापारिक मार्ग बनाउने भारत–चीनको सहमतिप्रति नेपालको आपत्ति रहेको बताउनुभएको छ ।
आइतबार गृह जिल्ला बैतडीको मेलौलीमा गौरा पर्वको शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाटका क्रममा मन्त्री भण्डारीले नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने विषयमा चीन र भारतबिच भएको सहमतिका विषयमा आपत्ति रहेको बताउनुभएको हो ।
नेपालसंग कुनै परामर्श नगरी नेपाली भूमिमा व्यापारिक मार्ग बनाउने कुराको बारेमा कुटनीतिक रुपमा कुरा भइरहेको छ ।
उहाँले भन्नुभयो,“ नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने विषयमा चीन र भारतबिच भएको सहमतिका विषयमा आपत्ति छ । यो विषयमा चीन भ्रमणमा रहनुभएका सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटमा पनि राख्नुभएको छ । यो विषयमा चीनले सहयोग गर्ने कुरामा विश्वास छ ।”
चीन भ्रमणपश्चात प्रधानमन्त्रीज्यूको भारत भ्रमण पनि रहने र भारतमा पनि यो विषय प्राथमिकतामा रहने भण्डारीले बताउनुभयो ।
यस्तै उहाँले भारतसंग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा मोटरेबल पुल र पञ्चेश्वर परियोजना अगाडी बढ्ने तयारी भएको बताउनुभयो ।
उहाँले भन्नुभयो,“एकीकृत महाकाली सन्धी,पञ्चेश्वर परियोजनाका बारेमा सम्माननीय प्रधानमन्त्रीज्यूले कुरा राख्नुभएको छ । सम्भवत यो वर्ष सन्धीलाई कार्यान्यन गरेर अगाडी बढ्नेछौं । जसका लागि भारतकोे पनि सहमती आवश्यक पर्दछ ।”
दोधारा चाँदनी सुख्खा बन्दरगाह,महाकाली करिडोरलगातयका विषय पनि प्राथमिकतामा रहेको मन्त्री भण्डारीले बताउनुभयो ।
यसका साथै उहाँले बैतडीको समग्र विकासका लागि आफू लागिपरेको बताउनुभयो ।
उहाँले भन्नुभयो,“ बैतडीको विकासका लागि थुप्रै बजेट हुने गरेको भएपनि कार्यान्वयनमा समस्या हुँदै आएको छ । ठेकेदारले समयमै काम नगर्ने,स्थानीयबीचको विवाद लगायतले समस्या देखिएको छ । यो समस्या समाधान स्थानीयस्तरबाटै गर्नुपर्छ । ”

