दोगडाकेदारमा सचेतना र सरसफाइ अभियानमा तिव्रता

बैतडी: बैतडीको दोगडाकेदार गाउँपालिकाले सरसफाई र सचेतनामूलक अभियानलाई तिव्रता दिएको छ । डेंगी रोगको महामारी फैलन सक्ने भएकोले त्यसको रोकथाम र नियन्त्रणका लागि अभियान सञ्चालन गरिएको गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत जनस्वास्थ्य निरीक्षक जनक कलौनीले जानकारी दिनुभयो ।

गाउँपालिकाको प्रतिकार्य समितिको निर्णय अनुसार हरेक शुक्रबार सरसफाइ अभियान सञ्ंचालन गर्ने निर्णय गरेको थियो । हरेक शुक्रबार सरसफाई अभियान सञ्चालन हुने भएपनि अन्य दिनहरुमा सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेका जनस्वास्थ्य निरीक्षक कलौनीले बताउनुभयो ।

उहाँले भन्नुभयो,“ डेंगी रोगको महामारी फैलन सक्ने भएकोले सबै सार्वजनिक निकाय,कार्यालय विद्यालय तथा सार्वजनिक स्थलहरुमा सरसफाइ तथा लामखुट्टेको प्रजनन् स्थल “वासस्थान खोज र नष्ट गर” अभियान सञ्चालन भइरहेको छ । ”

सरसफाइ अभियान संगसंगै विद्यालयमा सचेतना कक्षा समेत सञ्चालन भइरहेका छन् ।

गाउँटोलमा स्वास्थ्यकर्मी, कर्मचारी परिचालन गरेर लार्भा खोज्ने र नष्ट गर्नुका साथै सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएका गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले बताउनुभयो ।
उहाँले भन्नुभयो,“ विद्यालयहरुमा डेंगी रोगसम्बन्धी सचेतनामूलक कक्षा भइरहेका छन् । जसले गर्दा समुदायसम्म सूचना प्रदान भएर अभियान प्रभावकारी बन्छ ।”

गाउँपालिकाको प्रतिकार्य समितिको निर्णय अनुसार सरसफाइ अभियान जारी रहेको र यो अभियान ३ महिना सञ्चालन हुने प्रमुख प्रशासकीय अधिकृत नरेश राज जोशीले जानकारी दिनुभयो ।
यो अभियानले डेंगी रोग रोकथाम हुने विश्वास गरिएको गाउँपालिका अध्यक्ष चक्र कार्कीले बताउनुभयो ।

डेंगु लामखुट्टेको टोकाइबाट सर्ने र फैलने गर्छ । एडिज प्रजातिको लामखुट्टेले टोकमा डेंगु संक्रमण हुने र यो लामखुट्टे प्रायः दिउँसोको समयमा सक्रिय हुने गर्दछ ।
गर्मी एवं वर्षाको समयमा यस्तो लामखुट्टे फैलने भय बढी हुन्छ । त्यसैले डेंगुबाट बच्नु भनेको यस्ता लामखुट्टेको टोकाइबाट बच्नु नै हो ।

एडिज लामखुट्टे जमेको पानीमा जन्मने र हुर्कने भएकोले आफ्नो घर आसपासमा पानी जम्ने ठाउँ हुनुहुँदैन ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!