काठमाडौं: अस्ट्रेलियामा जारी टप इन्ड टी–२० सिरिजमा नेपालले पहिलो जित दर्ता गरेको छ । मंगलबार सम्पन्न आफ्नाे चौथो खेलमा नेपालले होबार्ट हरिकेन्सलाई ६६ रनले हरायाे ।
नेपालले दिएको १८१ रनको चुनौती पछ्याएको हरिकेन्स १६.१ ओभरमा सबै विकेट गुमाउँदै ११४ रनमा समेटियाे।
नेपालको जितमा नन्दन यादव नायक बने । तीन ओभर बलिङ गरेका नन्दनले १७ रन दिएर पाँच विकेट हात पारे ।
त्यस्तै कप्तान रोहित पौडेल, कुशल भुर्तेल, रिजन ढकाल र सन्दीप लामिछानेले १-१ विकेट लिए ।
होबार्टका लागि ब्राड होपले सर्वाधिक ३१ रन बनाए भने चार्ली वाकिमले २८ रन बनाउँदा जेन कर्टेन २० रनमा नटआउट रहे ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १८० रन बनाएको थियो । नेपालका लागि आरिफ शेखले सर्वाधिक ३३ रन बनाए।
आसिफ शेखले २९ तथा कुशल भुर्तेलले २७ रन बनाए । लोकेश बम ११ बलमा २५ रनमा अविजित रहे ।
नेपालले तीन हारपछि पहिलाे जित दर्ता गरेकाे हाे।
नेपाल पहिलो खेलमा शुक्रबार एनटी स्ट्राइकसँग पराजित भएको थियो भने दोस्रो खेलमा शनिबार बंगलादेश ए सँग तथा तेस्रो खेलमा सोमबार मेलबर्न स्टार्ससँग पराजित भएको थियो ।
नेपालले यसपछि भोलि मेलबर्न रेनेगेड्स र शुक्रबार पाकिस्तान शाहीन्ससँग खेल्नेछ ।
विश्वकपकाे तयारीस्वरूप नेपालले याे सिरिज खेलिरहेको छ।
