सुदूरपश्चिमका स्वास्थ्यकर्मी आन्दोलनमा,आकस्मिक बाहेकका सेवा ठप्प

बैतडी: सुदूरपश्चिम प्रदेशका स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीहरु आकस्मिक बाहेकका सेवा ठप्प पारेर आन्दोलनमा उत्रिएका छन् । प्रदेश सरकारले ल्याएको स्थानीय सेवा ऐनमा स्वास्थ्यकर्मीहरुलाई विभेद गरिएको भन्दै उनीहरुले आन्दोलित भएका हुन् ।

केही दिन पहिलादेखि आन्दोलनमा रहेका स्वास्थ्यकर्मी सरकारले माग नसुनेकाे भन्दै आजदेखि आकस्मिक बाहेकका सेवा ठप्प पार्ने निर्णयमा पुगेका संघर्ष समितिका संयोजक राजेन्द्रसिंह साउँदले बताउनुभयाे। 

स्थानीय तह स्वतन्त्र स्वास्थ्यकर्मी संघर्ष समितिले आफूहरुका न्यायोचित माग सम्बोधनका लागि प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाएको तर सरकारका तर्फबाट माग सम्बोधनका बिषयमा कुनै चासो नदिएपछि आजदेखि आकस्मिक बाहेकका सेवा ठप्प पार्ने निर्णय गरेको हो । 

सुदूरपश्चिम प्रदेशका ८८ ओटै स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाहरुमा आजदेखि आकस्मिक बाहेकका सेवा बन्द रहेका छन् ।  

स्थानीय तहमा समायोजन भएर आएका स्वास्थ्यकर्मीहरुलाई ऐनले विभेद गरेकाले आफूहरु आन्दोलन उत्रिन बाध्य भएका बताउनुभयो । 

स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सेवा ऐन, २०५३ बमोजिम पदनाम कायम हुने गरी समायोजन ऐन २०७५ बमोजीम स्थानीय तहमा समायोजन भएका स्वास्थ्यकर्मीहरुलाई तह वृद्धि गर्नुपर्ने आफूहरुको माग रहेको साउँदले बताउनुभयाे ।
सुदूरपश्चिम सरकारले ल्याएको स्थानीय सेवा ऐनले सबैलाई समान किसिमको व्यवहार नगरेकाले आफूहरु आन्दोलनमा उत्रेको उहाँको भनाइ छ । 

स्वास्थ्यकर्मीहरूले कर्मचारी समायोजन ऐन, २०७५ ले व्यवस्था गरे अनुसार आफूहरूको दरबन्दी र सेवा सुविधा मिलाउनुपर्ने बताएका छन् । शुरुमा स्थानीय तहमा समायोजन गर्दा समेत स्वास्थ्यकर्मीहरुमाथि विभेद गरिएको र अहिलेको ऐनले पनि विभेद गरेको उनीहरुको आरोप छ । 

स्थानीय स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका सेवा ठप्प हुने भएपछि सेवाग्राही मारमा पर्ने भएका छन् । आधारभूत स्वास्थ्य सेवा पाउनु नागरिकको मौलिक हक भएपनि स्वास्थ्यकर्मीहरुको आन्दोलनले आधारभूत स्वास्थ्य सेवाबाट नागरिक वञ्चित हुने अवस्था आएकाले उनीहरुका जायज माग सम्बोधन गर्नुपर्नेमा स्वास्थ्य क्षेत्रका जानकारहरुले बताएका छन् । 

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!