बैतडी: दशरथचन्द राजमार्ग अन्तरगत बैतडीको पाटन नगरपालिका ६ खिपाली माेडमा जिप दुर्घटना हुँदा २ जनाकाे मृत्यु भएकाे छ। यस्तै दुर्घटनामा छ जना घाइते भएका छन्।
धनगढीबाट बैतडीको गन्ना गइरहेको सुप प्र ०१- ००१ ज १३७२ नम्बरको जीप आज बिहान करिब ६ बजेतिर दुर्घटनामा परेकाे हाे।
दुर्घटनामा परेर बैतडीको डिलाशैनी गाउँपालिका घर भएका जीप चालक समेत रहेका २४ वर्षीय सन्ताेस राना र साेही ठाउँका ३२ वर्षीय किरण बाेहराकाे मृत्युु भएकाे बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयाे।
दुर्घटनामा परेर गम्भीर घाइते भएका सन्ताेस र किरणकाे पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएकाे हाे।
साेही दुर्घटनामा परेर छ जना घाइते भएका छन्।
डिलाशैनीकै २७ वर्षीय राजेन्द्र खत्री,५१ वर्षीया कलमा धामी, २५ वर्षीय हेमन्त प्रसाद भट्ट, ३९ वर्षीय राम कुमार राना,२१ वर्षीया भागरथी खत्री र उनकी २ वर्षीया छाेरी एलिसा खत्री रहेका छन्।
घाइते मध्ये राजेन्द्र र कलमाकाे अवस्था गम्भीर रहेकाे र दुबैजनालाई उपचारकाे लागि धनगढी लगिएको छ।
अन्य घाइतेहरूकाे पाटनमै उपचार भइरहेको छ।
दुर्घटनाग्रस्त जीप सडकबाट ७० मिटर तल खसेर भीरमा अड्किएकाे छ।
दुर्घटनाको कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
