बैतडीमा एसईईको तयारी पूरा,५ हजार बढी परीक्षार्थी सहभागी हुने

सीता सिंह-बैतडी: बैतडीमा माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसईई)को तयारी पूरा भएको छ । बिहीबारदेखि सुरु हुने एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा भएको शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले बताउनुभयो ।

उहाँले भन्नुभयो,“ एसईईलाई मार्यादित र भयरहित वातारणमा सम्पन्न गर्न सबै तयारी पूरा भएको छ। निर्धक्क भएर परीक्षामा सहभागी हुन विद्यार्थीहरुलाई आग्रह गर्छौ ।”

यो वर्ष बैतडीमा ५ हजार ३ सय ६२ जना परीक्षार्थी सहभागी हुने भएका छन् । एसईईमा साधारणतर्फका नियमित २ हजार ११५ छात्रा र १ हजार ९७६ छात्र गरेर ४ हजार ९१ परीक्षार्थी सहभागी हुनेछन् । यस्तै प्राविधिक धारतर्फका नियमित ९६ छात्रा र १ सय २० जना छात्र गरेर २ सय १६ जना परीक्षार्थी सहभागी हुनेछन् ।

यस्तै ५ सय ८६ छात्रा र ४ सय ६९ छात्र गरेर १ हजार ५ जनाले ग्रेडवृद्धि परीक्षा दिने जनाएको छ ।

एसईई सञ्चालनका लागि २७ ओटा केन्द्र निर्धारण गरिएका छन् । प्राविधिक धारतर्फको परीक्षा र ग्रेड वृद्धि परीक्षा सञ्चालनका लागि जिल्ला सदरमुकाममै केन्द्र निर्धारण गरिएको शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका प्राविधिक सहायक रामचन्द्र भट्टले बताउनुभयो ।

प्राविधिक धारतर्फका परीक्षार्थीहरुका लागि विरेन्द्र मावि शाहीलेक (ख) र ग्रेड वृद्धिका लागि विरेन्द्र मावि शाहीलेक (ग) केन्द्र तोकिएको बताइएको छ ।

बैतडीमा १ सय २८ ओटा सामुदायिक र ५ ओटा संस्थागत विद्यालयका परीक्षार्थीहरुले एसईई सहभागिता जनाउने शिक्षा विकास तथा समन्वय इकाइ बैतडीले जनाएको छ ।

एसईईका लागि विरेन्द्र मावि शाहीलेकमा (क) (ख) र (ग) गरेर तीनओटा केन्द्र निर्धारण गरिएका छन् ।

यस्तै निङ्गलाशैनी मावि देहीमाण्डौं, कृष्ण मावि पाटन, सनातनधर्म मावि श्रीकोट, डिलेश्वरी मावि हाट, अर्जुन मावि गाँजरी, मणिलेक मावि काँडा मेलौली, दुर्गा मावि खलिगाड, विजयपुर मावि तितावै, सेटीगाउँ मावि ककरपाखा, ज्ञानेश्वर मावि विजयपुर, कुलाउँ मावि कुलाउँ, मणिलेक मावि गुरुखोला र दुर्गा मावि सिमारलाई केन्द्र निर्धारण गरिएको छ ।

यस्तै रौलेश्वर मावि रामकी बरायल, केदारनागार्जुन मावि बग्लेखान, खेती मावि तल्लादेही, शिक्षा केन्द्र अमर मावि धामीगाउँ, दशरथचन्द मावि सुन्दरखाली, लेकलुपुँड मावि गड, पहरौल मावि बागा, नेपाल राष्ट्रिय मावि ग्वानी, केदार मावि पिपलकोट, महेश्वरी मावि न्वाघर र नागार्जुन मावि शर्मालीलाई केन्द्र तोकिएको शिक्षा विकाश तथा समन्वय इकाई बैतडीले जनाएको छ ।

junchadi
Cricket
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!