बैतडी: बैतडीमा जारी मैनेजर तेजबहादुर चन्द स्मृति अन्तरपालिका जिल्लास्तरीय भलिबल प्रतियोगिता अन्तरगत सेमिफाइनलका खेलहरू आज हुँदैछन् ।
दुबै सेमिफाइनलका खेलहरू बिहान ८ बजेदेखि सुरू हुनेछन् ।
पहिलाे सेमिफाइनल खेलमा साविक विजेता मेलाैली नगरपालिका र सुर्नया गाउँपालिका भिड्नेछन् ।
उक्त खेल गाेठलापानीस्थित जगन्नाथ बहुउद्देश्यीय खेलमैदानमा हुने रेफ्री संयाेजक हरि भण्डारीले बताउनुभयो ।
मेलाैली शिवनाथ गाउँपालिकालाई हराउदै सेमिफाइनल पुगेकाे हाे भने सुर्नयाले पुर्चाैडी नगरपालिकामाथि जित निकाल्दै अन्तिम चारमा सुरक्षित भएको थियोे ।
शाहिलेकस्थित विरेन्द्र माविकाे खेलमैदानमा हुने दाेस्राे सेमिफाइनलमा दशरथचन्द नगरपालिका र सिगास गाउँपालिकाबीच भिडन्त हुनेछ।
दाेगडाकेदार गाउँपालिकालाई स्तब्ध पार्दै दशरथचन्द सेमिफाइनलमा अटाएकाे हाे।
सिगासले भने पाटन नगरपालिकामाथि सहज जित निकाल्दै अन्तिम चारमा पुग्न सफल भएकाे थियाे।
मैनेजर तेजबहादुर चन्द ट्रष्टकाे आयाेजनामा गत बिहीबारदेखि भएको प्रतियोगितामा डिलाशैनी गाउँपालिकाबाहेक जिल्लाका सबै पालिकाकाे सहभागीता रहेकाे थियोे ।
प्रतियोगिताको विजेताले १ लाख २५ हजार पुरस्कार पाउने ट्रष्टका सचिव विनाेदबहादुर चन्दले जानकारी दिनुभयाे।
यस्तै उपविजेताले ७५ हजार, तृतीयले ३५ हजार, सान्त्वनालाई १५ हजार र उत्कृष्ट खेलाडीलाई ५ हजार पुरस्कार दिइनेछ ।
यसअघि सम्पन्न प्रतियोगिताको उपाधि मेलौली नगरपालिकाले जितेको थियो ।
प्रतियोगिताले भलिबल खेलाडी उत्पादनमा सहयोग मिल्ने विश्वास गरिएको छ ।
दशरथचन्द नगरपालिका ५ घर भएका तेजबहादुर चन्द वाणिज्य बैंकका क्षेत्रिय प्रबन्धक हुनुहुन्थ्यो ।
उहाँकै स्मृतिमा वि स २०७४ सालमा स्थापना भएकाे ट्रष्टले जिल्लामा विभिन्न सामाजिक कार्यका साथै खेलाडीहरुको क्षमता अभिवृद्धिका लागि हरेक प्रत्येक वर्ष भलिबल प्रतियोगिताको आयोजना गर्दै आएको छ ।
