विश्वकप लिग टु: अभ्यास खेलमा नेपालकाे उत्कृष्ट जित

काठमाडौं: विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक ओडिआई सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली क्यानडा भ्रमणमा रहेको छ । भ्रमणका क्रममा नेपाली राष्ट्रिय क्रिकेट टोली पहिलो अभ्यास खेलमा उत्कृष्ट जित निकालेको छ ।

टोरोन्टोमा भएको अभ्यास खेलमा नेपालले स्थानीय एचपी जगुवार्सलाई ६६ रनले पराजित गरेको हो । पहिले ब्याटिङ गरी २ सय ४७ रन बनाएको नेपालले जगुवार्सलाई ३९ ओभरमा १ सय ८१ रनमा अल आउट गर्यो ।  जगुवार्सका लागि अजयविर सिंहले सर्वाधिक ५५ र  नदिम मन्जराले २९ रन जोडे ।
नेपालका लागि ललितनारायण राजवंशीले ४, सन्दीप लामिछानेले ३ तथा करण केसी र कुशल मल्लले समान १ विकेट लिए ।

टस जितेर ब्याटिङ रोजेको नेपाल ४७.५ ओभरमा २ सय ४७ रनमा अल आउट भएको थियो । नेपालका लागि अनिल कुमार शाहले नटआउट सर्वाधिक ४७ तथा कुशल भुर्तेलले ४१ रन जोडे ।

कप्तान रोहित कुमार पौडेलले ३३, भीम सार्कीले २१, गुलसन झा र आशिफ शेखले समान १९ तथा दीपेन्द्रसिंह ऐरीले ११ रन बनाए ।

जगुवार्सका लागि जसकरन बुटर, इरफन सोदात र शिल पटेलले समान २ तथा जाहिद सिरजाद, सुकजिन्दर सिंह र शिभम् शर्माले समान १ विकेट लिए ।

विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली, नेपाल र ओमान सहभागी हुँदैछन् । त्रिकोणात्मक ओडिआई सिरिज भदौ ३१ देखि असोज १० सम्म हुनेछ।

त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालको पहिलो खेल भदौ ३१ गते क्यानडासँग र दोस्रो खेल असोज २ गते ओमानसँग रहेकोछ ।

असोज ६ गते क्यानडा र असोज ८ गते ओमानविरुद्ध छ । सबै खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछन ।

ओडिआई सिरिज सकिएको २ दिन पछि  टि २० आई सिरिज हुनेछ । सिरिज असोज १२ देखि १७ गते सम्म हुनेछ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!