दशौं राष्ट्रिय खेलकुदः बैतडीमा खेलाडी नाम दर्ता खुल्ला

बैतडी: दशौं बृहत राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि बैतडीमा खेलाडी नाम दर्ता खुल्ला गरिएको छ । प्रतियोगिताको लागि आजदेखि नाम दर्ता खुल्ला गरिएको बैतडी जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख तर्कराज जोशीले जानकारी दिनुभयो ।

सहभागी हुन चाहने महिला र पुरुष खेलाडीले भदौ ५ गतेसम्म जिल्ला खेलकुद विकास समितिको कार्यालयमा आएर नाम दर्ता गरिसक्नुपर्नेछ ।
उहाँले भन्नुभयो,“ प्रतियोगितामा सहभागी हुन चाहने खेलाडीले अनिवार्य रुपमा खेलाडी नाम दर्ता फारम भरेको हुनुपर्नेछ, फारम नभरेको खेलाडीले छनौट प्रतियोगितामा सहभागिता जनाउन पाउने छैन ।”

खेलाडीले दर्ता फारम भर्दा नेपाली नागरिकताको प्रमाणपत्र वा जन्मदर्ताको प्रमाणपत्र,अर्को जिल्ला भए बसाईसराईको प्रमाणपत्र र दुईप्रति पासपोर्ट साइजको फोटो आवश्यक पर्ने जनाएको छ ।
जिल्लामा खेलाडी छनौट प्रतियोगिता भदौ १५ देखि ३१ सम्म सञ्चालन हुने बैतडी जिल्ला खेलकुद समितिका अध्यक्ष चमनकुमार भण्डारीले बताउनुभयो ।

भलिबल,क्रिकेट,कबड्डी, एथ्लेटिक्स,ब्याडमिण्टन,फुटबल खो–खो,बुद्धिचाल, भारत्तोलन, टेबलटेनिस, कराँते, तेक्वान्दो, बक्सिङ,फुल कन्ट्याक्ट कराँते,उसु,आई टि एफ तेक्वान्दो,ह्वाण्डबल र सेपाक्टाको खेलहरु जिल्ला छनौट प्रतियोगितामा खेलाइनेछन् ।

जिल्लाबाट छनौट भएका खेलाडीले सुदूरपश्चिम प्रदेश छनौट प्रतियोगितामा सहभागी हुन पाउनेछन् ।

राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा दशौं बृहत राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर २ गतेदेखि ९ गतेसम्म कर्णाली प्रदेशमा हुँदैछ ।

junchadi
Cricket
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!