शिवनाथमा अनलाइनबाटै राष्ट्रिय परिचयपत्र विवरण संकलन
अनलाइनबाट विवरण संकलन गर्ने शिवनाथ सुदूरकै पहिलाे पालिका
बैतडी: बैतडीको शिवनाथ गाउँपालिकामा अनलाइनबाट राष्ट्रिय परिचयपत्र लागि विवरण संकलनको काम सुरु भएको छ ।
अनलाइनबाट परिचयपत्र विवरण संकलन तथा दर्ताको सुरुवात गर्ने शिवनाथ सुदूरपश्चिम प्रदेशकै पहिलो स्थानीय तह बनेको उक्त गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालयको समन्वयमा पालिकामा दर्ता शिविर सञ्चालन गरेर परिचयपत्र विवरण संकलनको काम भइरहेको छ। उहाँले भन्नुभयो,“यसअघि अफलाइनबाट हुँदै गरेको विवरण दर्ताको काम अनलाइनबाट सुरु भएको छ ।
यसरी अनलाइनबाट राष्ट्रिय परिचयपत्र विवरण संकलनको सुरुवात गर्ने शिवनाथ सुदूरपश्चिमको पहिलो पालिका समेत बनेको छ । ”
हालै मात्रै यहाँ विद्युत विस्तार भएपनि इन्टरनेटको अवस्था भएको शिवनाथ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र महताले बताउनुभयो ।
उहाँले भन्नुभयो,“ बिजुली पुगेसंगै इन्टरनेटको पनि व्यवस्था भएको छ । पहिला बिजुली नहुँदा इन्टरनेट नियमित सुचारु हुन सकेको थिएन । ”
अनलाइनबाट विवरण दर्ताको काम हुँदा तुरुन्तै परिचयपत्र नम्बर हेर्न मिल्ने शिवनाथमा दर्ता शिविरमा खटिएका कम्प्युटर अपरेटर मोहनराज बिसीले जानकारी दिनुभयो ।
जिल्लामा हुने काम पालिकामै भइरहेको छ । उहाँले भन्नुभयो,“यसअघि पालिकाहरुमा अफलाइनबाट विवरण संकलनको काम गर्ने र पछि जिल्ला प्रशासन गएर पुनः डाटा इन्ट्री गर्नुपर्थ्यो, अहिले पालिकामै अनलाइनबाट डाटा इन्ट्री गरेर तुरुन्तै परिचयपत्र नम्बर हेर्न समेत मिल्छ ।”
शिवनाथमा अनलाइनबाटै २०० जनाकाे अनलाइनबाटै विवरण दर्ताको काम भएको छ ।
अफलाइन इन्ट्री गरेको डाटा जिल्ला प्रशासनमा पुनः अनलाइनबाट इन्ट्री गर्नुपर्ने दोहोरो बाध्यताको समेत अन्त्य भएको छ । पुनः अनलाइनबाट इन्ट्री गर्दा डाटा हराउने तथा छुटने समस्या आउने गरेको थियो ।
शिवनाथ गाउँपालिकाले डिभाइस उपलब्ध गराएर अनलाइनबाट विवरण दर्ताको काम भइरहेको बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले जानकारी दिनुभयो ।
जिल्लाका अन्य पालिकाहरुमा पनि दर्ता शिविर सञ्चालन भएपनि अफलाइनबाटै काम भइरहेको छ । उहाँले भन्नुभयो,“ अन्य पालिकाहरुलाई पनि इन्टरनेटलगायतको व्यवस्था गर्दै अनलाइनबाट दर्ताको काम गर्न अनुरोध गरेका थियौं तर व्यवस्था हुन सकेन, शिवनाथ अनलाइनबाट काम गर्न सफल भएको छ ।”
शिवनाथले अनलाइनबाट दर्ताको काम सञ्चालन गरेर उदाहरणीय काम गरेको प्रजिअ पौडेलले बताउनुभयो ।
उहाँले भन्नुभयो,“ अनलाइनबाट दर्ता संकलन गर्ने पहिलो पालिका बनेर शिवनाथले उदाहरणीय काम गरेको छ । अन्यले पनि सिको गर्नुपर्छ । पालिकामै अनलाइनबाट सबै काम हुँदा सजिलो र विश्वसनीय हुनेछ । ”
जेष्ठ नागरिकहरुको समस्यालाई ध्यानमा राखेर यसअघि जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालय पुर्चाैडीबाट सञ्चालन हुँदै आएको विवरण संकलनको काम अहिले स्थानीयस्तरमै शिविरमार्फत सञ्चालन गरिएको छ ।
सामाजिक सुरक्षा भत्ता, बैंक खाता खोल्ने प्रक्रियालगायत विभिन्न सरकारी तथा गैरसरकारी सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य भनेकोले दुर्गमबाट परिचय पत्र बनाउनका लागि सदरमुकाम धाउनुपर्ने बाध्यतालाई मध्यनजर गरेर पालिकामै शिविरमार्फत दर्ताको काम भइरहेको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।
