बैतडी: बैतडीको पुर्चाैडीमा रहेकाे ईलाका प्रशासन कार्यालयमा पहिलाेपटक अधिकृत आउनुभएको छ।
ईलाका प्रशासन कार्यालय स्थापना भएकाे १० वर्षमा पहिलाेपटक अधिकृत आउनुभएकाे हाे ।
यसै साता अधिकृतकाे रूपमा शंकरबहादुर बाेहरा हाजिर हुनुभएको छ।
वि.स.२०७३ सालमा स्थापना भएकाे यस ईलाका प्रशासनमा १० वर्षमा अधिकृत आउनुभएको हाे।
यहाँ अधिकृतकाे दरबन्दी रहेपनि यसअघि नायब सुब्बाले काम चलाउदै आउनुभएको थियाे।
पुर्चाैडी नगरपालिका र डिलाशैनी गाउँपालिका ४ का बासिन्दालाई नागरिकता प्रमाणपत्र जारी गर्न र प्रतिलिपी दिन ईलाका प्रशासन कार्यालय स्थापना भएकाे थियाे।
४० हजार जनसंख्यालाई लक्षित गर्दै पुर्चाैडीमा ईलाका प्रशासन स्थापना भएकाे हाे ।
तर अधिकृत नहुँदा यहाँबाट दिइने सेवा प्रभावित हुँदै आएका थिए।
अधिकृतविहीन हुँदा यहाँबाट नागरिकताकाे प्रमाणपत्र जारी गर्ने तथा प्रतिलिपी दिने काम पछिल्लो केही वर्षदेखि राेकिएकाे थियाे।
पुर्चाैडीबाट नागरिकता प्रमाणपत्र बनाउनकै लागि सदरमुकामस्थित जिल्ला प्रशासन कार्यालय पुग्नुपर्ने बाध्यता रहेकाे थियाे।
गएकाे ७ महिनायता यहाँ नायब सुब्बा समेत नहुँदा नागरिकतासम्बन्धि सबै काम भएर जारी गर्ने अधिकारीकाे हस्ताक्षरका लागि जिल्ला प्रशासन पुग्नुपर्ने बाध्यता थियाे।
तर पछिल्लो समय यहाँ अधिकृत आएपछि नागरिकता वितरणकाे काम धमाधम भइरहेकाे छ।
यसका साथै सदरमुकाम पुग्नुपर्ने बाध्यताकाे पनि अन्त्य भएकाे छ।
ईलाका प्रशासनमा पहिलाेपटक अधिकृतका रूपमा शंकरबहादुर बाेहरा आउनुभएकाे र उहाँ आइसकेपछि नागरिकता बनाउन सदरमुकाम जानपर्ने यहाँका स्थानीयकाे बाध्यता हटेकाे पुर्चाैडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगदीशप्रसाद जाेशीले जानकारी दिनुभयाे ।
उहाँले भन्नुभयाे,”अधिकृत आएसंगै ईलाका प्रशासन पुर्चाैडीबाट नागरिकता बनाउने काम भइरहेको छ। नागरिकताकै लागि सदरमुकाम जानपर्ने बाध्यता समेत हटेकाे छ।”
पहिलाेपटक अफिसर आएपछि ईलाका प्रशासनबाटै छिटो छरिताे रूपमा नागरिकता जारी गर्न सहज भएकाे बैतडीका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताउनुभयो ।
उहाँले भन्नुभयाे,”पुर्चाैडीबाटै नागरिकता जारी हुन थालेपछि सदरमुकाम पुग्नुपर्ने त्यहाँका बासिन्दाकाे झन्झट अन्त्य भएकाे छ।साथै सदरमुकाम आवतजावत गर्ने खर्च पनि कम भयाे। सहजै ईलाकाबाट नागरिकता पाउदैछन्। ”
ईलाका प्रशासनबाट नागरिकता जारी हुन थालेपछि जिल्ला प्रशासनका हुने सेवाग्राहीकाे चाप पनि घटेकाे छ।
वि. स. २०७३ साल असार ५ गते स्थापना भएकाे ईलाका प्रशासन कार्यालयबाट हालसम्म नाै हजार दुई सय ९० नयाँ नागरिकता जारी भएका छन् ।
यस्तै तीनहजार पाँच सय २६ प्रतिलिपी बनेका छन्।
